Friday, May 29, 2009

भयवाद अध्ययन केन्द्र स्थापना गर्न सोचिरहेको छु ।



१. तपाई कहिले देखि साहित्यमा लाग्नु भएको हो ? कुन कुन विद्यामा कलम चलाउन रुचाउनु हुन्छ ? हाल सम्म के कति लेख्नु भयो ?
म साहित्यमा लागेको त धरानबाटै हो । म पढेको विद्यालय शिक्षा निकेतनबाट निस्किने स्मारिकामा लेख्न थालेको जस्तो लाग्छ । २०४१/४२ सालतिर टुटुल्को हाँस्यब्यङय हालको फिल्म निर्देशक किशोर सुब्बा, हाम्रो पुस्तक पसल (थाना अगाडि) को अजनबी मिलेर निकाल्थे । म पनि सानोतिनो केही लेखेर दिन्थेँ । २०४० सालतिर शिक्षा निकेतनमै थिएँ । त्यसबेला हामीलाई नेपाली शिक्षक यादव लामिछानेले पढाउनु हुन्थ्यो । मैले एउटा उपन्यासको पाण्डुलिपि तयार पारेको थिएँ । त्यो पाण्डुलिपि यादव गुरुलाई देखाएँ । त्यही पाण्डुलिपि २०४४ सालतिर चावहिलको पशुपति बहुमुखी क्याम्पसमा पढ्दा विजय चालिसे गुरुलाई देखाएँ । उहाँहरूले हौसला दिनुभयो । २०५० सालतरि मात्र "दोषी कर्म"नामले त्यो छापियो । यस बीचमा मैले फुटकर लेख, रचना लेखेको सम्झना छ ।
हुन त कुनै पनि साहित्यकार साहित्यका सबै विद्या लेख्ने प्रयास गर्छ । ती मध्ये कुनै एकमा सफल हुन सक्छ । मैले केही कविता, केही कथा र उपन्यास लेखेको छु । शुरुमा नजानेर पछि जानेर उपन्यासमा बढी रमाएको छु । हङकङबाट प्रकाशित विभिन्न पत्रपत्रिका, मुखपत्रमा फुटकर रचना लेखिरहेको छु । मेरा हालसम्म दोषी कर्म २०५०, अपमान पहिलो सँस्कार २०५२, शहिद २०५६, अपमान दोस्रो सँस्करण २०६०, आदिवासी २०६४ उपन्यासहरू प्रकाशित छन् ।
२. तपाईको लेखनमा आदिवासी जनजातिका पात्र बढी छन्, के सावित गर्न खोज्नु भएको हो ?
साहित्य लेखन आफू र आफ्नो वरिपरिको परिवेशलाई कल्पना र श्रृंगारले गुँ दने कला हो । यसमा आफूले बिताएको, खेलाएको बाल्यकाल घनिष्ट हुन्छ । म आदिवासी जनजाति भएकोले मेरो लेखनमा त्यसको सुगन्ध आउनु प्राकृतिकता हो । गैर आदिवासी जनजातिको लेखनमा उसैको सुगन्ध आउँछ । त्यहाँ क्रस गर्न खोजियो भने मौलिकता हराएर कृत्रिमता भरिन्छ । त्यसले साहित्यको जीवन भर्दैन । लाग्दछ नोष्टलजिया शब्दले यही बढी खोतल्छ । धेरै अगाडि अमेरिका र बेलायत गएका भारतीय मूलका अंग्रेजी लेखकहरूलाई यसैले बढी खोतलिरहेको थियो र छ । उनीहरू आफ्नो जाति, परिवेश, बाल्यकाल लेखिरहेका छन् । मेरो उपन्यासमा आदिवासी पात्र बढी आउनुको एउटा कारण यो हो भने अर्को कारण नेपाली साहित्यमा आदिवासी पात्रहरू सधैँ सिमान्तमा थिए । उनीहरूलाई साहित्यको मञ्चमा ल्याएर चलायमान बनाउन खोजेको हुँ ।
३. भयवाद कसरी प्रतिपादित गर्नु भयो ? कुन दर्शन वा वादबाट प्रभावित हुनु भयो ? वास्तवमा भयवाद के हो ? सरल भाषामा यो कस्तो दर्शन हो ? भौतिकवादी या अध्यात्मीक ?
वाद, सिद्धान्त एकैपटकमा प्रतिपादन गर्छुनेर नहुँदोरहेछ । यो ज्ञान वा शब्दबाट फैलिएर गएको प्रकाश हुँदोरहेछ । अथवा यो ज्ञान, प्रकाश यही हुन्छ प्रकट मात्र भएको हुँदैन । यो अँध्यारोमा हुन्छ, चेपमा हुन्छ, छेकिएको हुन्छ, छोपिएको हुन्छ, जसरी सर्वनाम गर्दा पनि हुन्छ । यसलाई म "प्रकट" भनिरहेको छु । यो एउटा बिन्दु हुन्छ र फैलिन्दै जान्छ । दुःख, सुख, मय, अस्तित्व, विसँगति, आस्था, अनास्था, भौतिक, अभौतिकवादहरू यसरी नै आएका हुन् । यसले मान्छेलाई प्रभाव पार्दै जान्छ र फैलिन्दै जान्छ । समयसँगै रुपान्तरित पनि हुँदै जान्छ ।
भयवाद पनि यस्तै एउटा बिन्दूबाट आएको हो । मसित एउटा उपन्यासको पाण्डुलिपि थियो २०५६ सालतिर । त्यो उपन्यास अझै प्रकाशित भएको छैन । त्यो पाण्डुलिपि छलफलको लागि साथीहरूलाई अध्ययन गर्न दिएँ । त्यो पाण्डुलिपिमा "भयवाद"शब्द परेको रहेछ । त्यसलाई कवि शरण सुब्बाजीले रातो कलमले अण्डर लाइन गरेर दिनु भयो । पछि त्यो पल्टाएर हेरेँ । मलाई त्यो मेरै शब्द गतिलो लाग्यो र यो राम्रो विचार हुन सक्छ ठानेँ । यो दृष्टिकोणबाट संसारलाई हेर्दा संसार भयमय देखेँ । साथीहरूसित विमर्श गरेँ । धेरै साथीहरूले समर्थन गर्नुभयो र म यसलाई विकास गर्न तिर लागेँ ।
यो कुन दर्शनबाट प्रभावित भएको छ कसरी भनौँ । प्रभावित कै कुरा गर्ने हो भने जीवन दर्शनबाट प्रभावित होला । किनभने यसले जीवन मात्र देख्छ । जीवनलाई पार लगाउने कुरा मात्र सोच्छ । यो सरल भाषामा जीवनसँग नजिकको दर्शन हो । यसलाई यसरी बुझदा सजिलो होला-जीवन-चेतना-ज्ञान-भय-भयवाद अर्थात सबै जीवित प्राणीमा चेतना हुन्छ, त्यो चेतनाले विभिन्न विषयको बारेमा ज्ञान-रोग, भोक, शंका, चिन्ता, समस्या, हत्या, आतङ्क, युद्ध, षडयन्त्र, सम्पत्ति, जीवन, मृत्यु, धर्म, विस्वास इत्यादि) दिन्छ, त्यही ज्ञानले ऊ भयभीत हुन्छ र त्यो भयबाट निस्किने उपायको अवलम्बन गर्छ । यही नै भयवाद हो ।
जीवन र जगतलाई हेर्ने भौतिकवाद र अध्यात्मवाद मात्र भए यो अध्यात्मवादको नजिक जाला । जीवन र जगतलाई हेर्ने दृष्टिकोण दुइटा मात्र छैन, दृष्टिकोणको जंगलैजंगल छ । भयवाद भन्ने बित्तिकै मनोविज्ञानसँग नजिक हुन आउँछ । तर यो विभिन्न सिद्धान्त, वाद, धर्म, विज्ञान, कला, नृतत्व शास्त्र सबैबाट अलिअलि लिएर आएको छ । यो आफ्नै सिद्धान्त "भयवाद" मा परिचय बनाउन खोजिरहेको छ यसबेला ।
 
४.हङकङ के काम कसरी किन गर्दै हुनु हुन्छ र रोजगारीको शीलशिलामा रहेर पनि कसरी साहित्य सिर्जना गर्नु हुन्छ ? कमाएको पैसा साहित्यमा कति प्रतिशत खर्च गर्नु हुन्छ ?
मैले गरिरहेको कामलाई ठेट नेपालीमा चौकिदार, सुरक्षा गार्ड वा पाले भन्छन् । यहाँ अग्लो र धेरै घरहरूलाई हेर्न एउटा समिति हुन्छ, त्यो समितिले व्यवस्थापन नियुक्त गर्दछ । त्यही व्यवस्थापन अन्तर्गत सुरक्षा गार्ड पर्दछ । म अहिले यसैमा कार्यरत छु ।
यहाँ समय अपुग हुन्छ, त्यसैले कतिपय पसलहरू २४ सै घण्टा खुल्छन् । हामीले समय चोर्नुपर्छ यहाँ । भन्नुको तात्पर्य ६ घण्टा सुत्ने समय हुन्छ भने ५ घण्टा मात्र सुतेर आफ्नो व्यक्तिगत पढ्ने, लेख्ने, घुम्ने काम गर्नुपर्छ । म अहिले सुताइ छोटयाएर भयवाद गरिरहेको छु । होइन भने केही गर्न सकिन्दैन, कामले खान्छे मान्छेलाई यहाँ । कामले खाएको मान्छेले अपवाद बाहेक केही गर्न चाहान्दैनन्, गर्न सक्दैनन् । हङकङमै साहित्य र दर्शन रुग्न अवस्थामा हुनुको प्रमुख यही कारण हो ।
कमाएको पैसा यति नै प्रतिशत साहित्यमा खर्च भन्ने आँगडा छैन । यहाँ आम्दानी र खर्चको हिसाबमिलान गर्न नै गाह्रो हुन्छ । किनभने निश्चितता भन्दा अनिश्चितता बढी छ । तर पनि साहित्यमा नलाग्ने भन्दा बढी नै खर्च गरिरहेको छु जस्तो लाग्छ ।
 
५. हङकङमा तपाईको दैनिकी कसरी वित्छ ? कहिले सम्म हङकङ बस्ने ?
मैले रातीको काम गरेको करिब नियमित चार वर्ष हुन लाग्यो । रातीको काम गर्ने मान्छे दिनभरि सुत्ने चलन छ । शरीर थाक्छ आरामको सक्त जरुरत पर्छ । कामको समय १२ घण्टा, आउनुजानु ३ घण्टा, खानुपिउनु, कम्प्युटर, टिभी, ३ मुस्किलले ६ घण्टा बाँकी रहन्छ । त्यसैमा सुत्ने र बाँकी काम गर्ने हो । मेरो दिन यसरी नै बितिरहेको छ । समय अलि बचेको बेला लेख्ने, पढ्ने काम अलि बढी हुन्छ । बिदाको दिन साथीभाइसित भेटघाट, परिवारलाई समय, साहित्यिक कार्यक्रममा सहभागी हुन्छु ।
डायास्पोराको जीवनले जहिलेपनि आफू जन्मेका हुर्केको ठाउँ जान खोज्दाखोज्दै बित्छ । यही परिवार बन्छ, साथीभाइ बन्छन्, समाज बन्छ, संसार बन्छ, तर मन चाहिँ जहिलेपनि हिँडन् खोजिरहेको हुन्छ । कहिलेसम्म बस्ने भन्ने टुङ्गो छैन । परिस्थिति मिले रिटायर्ड लाइफ धरानमै बिताउने सोच्दैछु ।
 
६. विदेशमा बसेर पनि नेपाली साहित्य त्यसमा पनि आदिवासी साहित्यमा लाग्नु भएको छ, नेपालीहरुले कसरी मुल्याङ्न गरिदिओस जस्तो लाग्छ ?
आदिवासी साहित्य भनेको आफू जन्मेको, हुर्केको, भोगेको साहित्य हो । त्यसलाई छोडेर साहित्य हुनै सक्दैन । म साहित्यमा कल्पना मात्र गरिरहेको छुइनँ, यथार्थ र समसामायिक साहित्य गरिरहेको छु । हिजो एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक पर्व, केन्द्रियता र राजतन्त्र थियो, त्यसको विरुद्धमा समावेशी, संघिय व्यवस्था हुनुपर्छ भनेर "अपमान" मा काम गरेँ । आज देश संघिय, गणतन्त्र र समावेशीमा आइपुगेको छ । नेपाल एउटा फूलबारी हो सबै जात, धर्म, सँस्कृति र रंगको फूलले यहाँ फुल्न पाउनुपर्छ भनेर गतसाल प्रकाशित "आदिवासी उपन्यास"मा काम गरेँ । भयवादले परबाट यी सबै गतिविधिहरूको मूल्याङ्कन गरिरहेको छ । मेरो मूल्याङ्कन यी फूलहरूमा गरिदिओस भन्ने लाग्छ ।
७. भयवादलाई स्थापित गर्न तपाई आगामी योजनाहरु के के छन् ?
भयवादलाई स्थापित गर्न यस सम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेको छु । यस वादमा सहमत राख्ने साथीहरूसित सम्पर्क बढिरहेको छ । धरानमा भएको राष्ट्रिय बहसले मलाई अझै खुला बनाएको छ । भयवादको अध्ययन, अनुसन्धान र लेखन विकासको लागि समूह बनाउन खोजिरहेको छु । पुस्तक लेख्ने प्रयास जारी छ । सबैलाई सर्वसुलभ ढंगबाट हेर्न, सुन्न र पढ्न पाउने गरी एउटा भयवादिय सूचनाको केन्द्र, केन्द्रिय पुस्तकालयको रुपमा डब्ल्यु डब्ल्य डब्ल्य डट फेरिज्म डट ब्लगस्पट डट कम को विकास गरिरहेको छु । यसमा भयवाद सम्बन्धी लेखिएका, बोलिएका, प्रतिक्रिया, अन्तरवार्ता, लेख, साहित्य, भिडियो रेकर्ड, फोटोहरू सबै अपलोट गर्दै आएको छु । धरानमा एउटा अध्ययन केन्द्र, पाठशाला बनाउने विचार छ । यसले नियमित साहित्यिक भेटघाट गराउँछ । साहित्यिक भेटघाट नियमित भयो भने साहित्य र विचारको विकास हुन्छ भन्ने लागिरहेको छ ।
यी सबै गर्नलाई कोषको आवश्यकता पर्छ । त्यसको लागि कोष जुटाउने प्रयासमा म लगायत साथीहरू लागिरहेका छौँ । केही कोष जुटेपछि भयवादको गतिविधि सुचारु हुन्छ भन्ने आशा छ ।
८ .धरानमा कति बसेर हङ्कङ छिर्नु भयो ?
म धरानमै जन्मे, हुर्के र बढेको मान्छे हुँ । मैले कतैबाट आएर धरानलाई ट्रान्जिट बनाएको होइन । म एक्काइस वर्षो उमेरमा धरान छोडेर जिजिभीषाको लागि काठमाण्डौँतिर भौँतारिएको हुँ । काठमाण्डौँमा एघार वर्षति रोजगारी, अध्ययन गरेँर अहिले हङकङ आइपुगेको पनि एक दशक नाघेको छ । अहिले अर्ध वृतमा छु । एउटा वृत बन्न लागेको छ । वृत पूरा भएको दिन तन्नेरी वैश लिएर हिँडेको युवक वृद्ध मान्छेको रुपमा सायद धरानमा हुन्छु होला ।
अन्तरवार्ता बाँकी हे र्नु होला ------

No comments: