Monday, May 26, 2008

भयवादको रङमा रङ्गीएको आदिवासि

टंक वनेम
काठमाण्डौको अलि अग्लो थुम्काथुम्कीबाट उत्तर तिर लहरै उभेका सेताम्मे हिम शिखरहरु देख्दा एक किसिमको आनन्दले मन भित्र भित्रै खुशीको लिङ्गे पिङ मचाउँछ । आँखा सौर्न्दयको निलोदहमा डुबुल्कि मार्छ । हिमालमा परेको हिउँको चिसो हावाले हात खुट्टा र शरीर कठ्याँङ्रिदा पनि हिमाल प्रतिको आनी बानी बारे खोजिको बिषय हुँदैन ।तर हिमशिखर र झयामोलोङ्माको फेदमा बस्ने स्थानिय मानिसहरुले झयामोलोङ्मा बारे धेरै अनुभव गरेका हुन्छन् । झयामोलोङ्मा माथि कस्तो बादल लाग्यो भने के हुन्छ - कस्तो हावा चल्यो भने हिउँ पर्छ । कतिको घाम चर्के पछि हिमालबाट बिस्तारै हिउँ पग्लिन थाल्छ यि यावत कुराहरु त्यहाँका रैथानेहरुले अनुभव गरेको हुनाले उपन्यासकार देश सुब्बा र भयवादमा आधारीत उनको नया उपन्यास आदिवासी हिमालको आनीबानी बारे आफ्नै अनुभवको श्रृति कथा नैं तयार गरि सकेका हुन्छन् । देश सुब्बा द्धारा लिखित उपन्यास "आदिवासि" लाई यसरी नैं अभिब्याक्त गर्न खोजिएको हो भन्न सकिन्छ तर टाढाबाट हिमाल हेर्नेहरुको दृष्टिमा हिमालको आनीबानी बारे आफ्नै किसिमले ब्याख्या गर्‍यो भने कस्तो हुन्छ - बिचारणीय छ । श्री कृष्णले बुझने र अर्जुनले नबुझने महाभारतको युद्ध संम्बाद होला कि - यहाँ दुइवटा कुरामा स्पष्ट हुनु पर्छ । पहिलो भयवादको उठान र बैठान दोश्रो आदिवासि ।भोक शान्त भए पछि निन्द्रा लाग्छ, चेतना भए पछि भय हुन्छ । चेतना र भयको संम्बन्ध जति नजिक हुन्छ, लोभ र चेतनाको साइनो त्यति नजिक मान्न सकिन्दैन । जेब्रा क्रसिङमा उभेर दायाँ बायाँ हेर्नु अनुशासन मात्र होइन चेतना पनि हो । त्यो चेतनामा धेरै बाँच्ने लोभ भन्दा वर्तमान दुर्घटनाको भयले चेतना र भयको तन्तुहरु सशक्त भएका हुन्छन् । यही भय बारेमा धेरै बर्षपहिले एक जना येबा -मुन्धुमका ज्ञाता येबाः लिम्बूजातिय पुरोहितको एउटा वर्ग,नृत्यमा निपुण र नाचेर दुर्घटना,प्रसुति आदिबाट अकाल मृत्यु भइ उत्पन्न जङगली वा असन्तुष्ट प्रेतात्मालाई तह लाउन समर्थ लिम्बू पुरोहित) । Limbu priest,who is well versed in mundhum,skilled in dancing and specialised to appease or control the jungle sprits and the unsatisfied spirits of persons who have met accidental deaths) र गाउँका तुत्तु तुम्याहाङ् -गाउँका प्रमुख पंच भलाद्मी) संग भेट भएको थियो । येबा र तुत्तु तुम्याहाङ्ले दुःख सुःखका गफ मात्र गरेका थिएनन् । शक्ति र सत्यको बिषयमा बहस गरेका थिए । अथवा तन्त्र मन्त्र र सत्यको बिषयमा छलफल गरेका थिए । तन्त्र र मन्त्र एक अर्कोमा बिपरित ध्रुब हुन जसलाई सत्यले अडाएर राखेको छ । यो तर्क तुत्तुले अघि सारेका थिए । साधना गर्न नसकेर मात्र हो मन्त्र भन्दा तन्त्र धेरै कित्ता अघि बढी सकेको बिद्या हो । संसारमा सत्यवाचाको सृष्टि नभएको भए तन्त्र बिद्याले यो संसार निल्ने थियो । येबाले भनेका थिए । शक्ति साधना हो,अभ्यास हो । जसरी बिद्या आर्जन गरेर त्यसलाई अभ्यास गरिएन भने मस्तिष्कबाट बिस्तारै मधुरो हुँदै जान्छ । अर्को कुरा हामीमा सत्य वाचा नगरी कुनै पनि तन्त्रको ज्ञान गुरुबाट प्राप्त हुदैन भन्नुको अर्थ त्यो तन्त्र बिद्या पाएर त्यो बिद्याको दुरुपयोग नहोस । यहाँ भयको सट्टामा "सत्य वाचा" भन्ने शब्द प्रयोग गरिएको छ । यदी येबालाई तन्त्र प्रयोग पछि नोक्सान नहुने डर भए येबाले तन्त्रको प्रयोग द्धारा उसका शत्रु या जहाँ पनि प्रयोग गरि फाइदा लिन सक्थयो । तर उस्लाई सत्यको नाममा "भय" को वाचा बाँधिएको छ । भन्नुको मतलव तन्त्र मन्त्रको शुरुवात धेरै पूरानो बिद्या हो । जब मानव सभ्यताको खुडकिलो उक्लन शुरु गर्‍यो । मानवहरुमा चेतनाको रङ रङ्गीन थाल्यो त्यही बेला देखि नै भयको बीउ रोपिएको थियो भनेर अनुमान लाउन सकिन्छ ।भरखरै देश सुब्बा द्धारा प्रकाशित आदिबासि उपन्यासले यही कुरालाई उजगार गदै ध्रुबसत्य भयलाई नेपाली साहित्य लेखनको धारमा अगाडी सारेका छन् । डरको बिशाल संञ्जाल जीवनको हरेक पक्षसंग गाँसिएको छ । यदी मान्छेको चेतनामा डरको अंश नहुँदो हो त संसारको सांसारिक जीवन नैं उल्टो दिशातिर घुम्ने थियो होला । इज्यत जान्छ भन्नु नै भयको अर्को रुप हो । समाजमा आफ्नो इज्यत बचाइ राख्नु पर्ने डरले मानवता हुनुको नियम भित्र जीवनको चक्का घुमी हुन्छ । अथवा भयबाट नैं जीवनको ढोका बन्द हुने र खोलिने हुन्छ । भन्नुको अर्थ भोलीको भयले -अवश्यकताले) आजको हाम्रो दिनमा बिहानै आर्लाम लाग्छ र जीवनको रथ गुडाउन थाल्छौं । भोलीको चिन्ता नहुँदो हो त आजको अवश्यकता हुने थिएन् ।भय शरीरको प्रत्येक नशा नशामा ब्याप्त छ,त्यो भय चेतनासंग नजिकको संम्बन्ध गाँस्छ/राख्छ । एक जना बसौं देखि दाँहिने खुट्टा सोझो नभएर कुजो परेर ओछ्यानमा लडी रहेका थिए । बि.स २०४५ सालको एक बिहानी पख भुइचालो जाँदा उनी ओछ्यानमा भेट्टएिनन् । बारीको सुन्तला बारीमा आरामले डुलि रहेका थिए । पछि कारण बुझदा उनको ओछ्यानको गोडा माथि बाँसको आल्नामा मकैको झुत्ता झुण्डर्‍याइएको रहेछ । जब भुइचालोको कम्पनमा उक्त आल्नाको डोरी चुँडिएर मकैको झुत्ता भुइमा खस्यो । अचानक खसेको मकैको झुत्ताबाट आफ्नो खुट्टा जोगाउने चेतना क्रियाशिल भई भय भएको हुँदा खुम्चिएको खुट्टा अचानक तन्किन पुगेछ । उनको तन्किएको खुट्टा तन्दुरुस्त भएछ । यहाँ चेतनाले भयलाई सक्रियरुपमा काम लगाएको छ । भयकै दमित शक्तिकै कारणले गर्दा उनको खुट्टा तन्किएको थियो ।अथवा चेतना र भय संगसगैं हुन्छन् । भयकै कारण चेतना शसक्त्त हुन्छ । चेतनाकै कारण भयको उपस्थिति हुन्छ । भय नहुँदो हो त सांसारिक नियमहरु सजिलै संग भत्किने छन् । संसारमा प्रतिपादित धर्महरु पनि भय वा वाचा भन्ने शब्द प्रयोग गरि शुरुमा कानुनको रुपमा प्रयोग भएका थिए । इश्वर बिरुद्ध बोल्नु पाप हो भन्ने वाक्य पनि तिनै धार्मिक ग्रन्थ लेखन शुरु संगै भएको थियो । इश्वर बिरुद्ध बोल्नु हुन्छ या हुँदैन भन्ने वाक्याश भयकै अर्को रुप हो । इश्वरको रुप सिर्जना गरेर डर देखाउदै पाप मोचनका जन्तरहरु बेच्न शुरु गरिएको थियो । उपन्यासको घटना,मुख्य पात्रको यात्रा,काल,स्थान,उत्पति,प्रकृति पूर्बी पहाडी क्षेत्रलाई रोजिएको हुनाले यहाँ त्यही क्षेत्रमा बिश्वास गरिएको मिथक जनबिश्वासलाई जोड्न सार्न्दभिक होला । लिम्बूवानमा लिम्बूहरुले बिबाह बन्धनमा बाँधिन सात पुस्ताको साइनो -आमा र बाबु दुवै तर्फ मिसाउनु हुँदैन यदी मिसायो भने आकासबाट खस्ने बज्रले बज्रप्रहार गरि मार्ने छ भन्ने जन बिश्वास तयार भएको थियो/छ । त्यस बेला भय नै कानुन बनेको थियो ।भय मानव सभ्यताको शुरुवात देखि नै आराम्भ भएको थियो भन्ने एउटा उदाहरण हो यो । सामाजिक रितिथिति र नियम कानुन जस्तै बज्रप्रहारको भय देखाई एउटा साइनो संम्बन्धको साँध कोरियो । त्यही भयले बिश्वास र परम्पराको थालनी गर्‍यो । यसको अर्थ "भय" बाट सामाजिक परम्परामा कानुन सरहको नियम धेरै पहिले शुरु भएको थियो । देश सुब्बा द्धारा लिखित आदिबासि उपन्यासमा त्यही भयबादी सिर्जनाको लेखन शुरुवात गरिएको छ । यो भयबादी सिर्जनाको उद्घोष संगै उपन्यासको मुख्य मुद्धा चाँहि आदिबासिहरु किन आदिवासि नैं भएर बसेका छन् - भन्ने मुद्धालाई निशाम पात्र द्धारा श्री देखि अन्त गराइएको छ ।भयबादी रङमा निशामले किन भयको सिकार हुनु पर्‍यो - उनकै बाबुको आदिवासि राजनितिक गतिबिधिले हो या देशको अराजक परिस्थितिले - वा उनका बाबुले पढने वर्तमान आदिवासि पत्रपत्रिका द्धारा उनको मनस्थिति बिग्रिएको हो - पर्दा उघारिएको भए पनि मंचमा केहि अध्याराहरु बाँकि नै छन् । तर जब निशामले अचेत अबस्थामै ढुङ्गाको चेपबाट बिरुवा उम्रेर खुला आकासको हावामा स्वतन्त्र रमाइ रहेका देख्छन् र स्वतन्त्रताको उपभोग गर्न जुनेली रातमा घर छोड्छन् । तब भयबादी शैलीमा देश सुब्बाले धेरै कुरा बोलेका छन् । हिजको अतित खोतलेका छन् र आजको एकलकाँटे वर्तमानको टाउकोमा मज्जाले घन बजारेका छन् । भयबादी सिर्जना र शैलीमा आजको वर्तमान पाठकहरु सामु पुर्‍याउने नयाँ बाटो अन्य पूरानो स्वाद भन्दा साँच्चिकै बेग्लै खालको छ । यो अमूर्त बिद्रोहबाट असन्तुष्टिको छाँयाहरु सल्बलाएका छन् । यो भयबादी सिर्जनाको उद्घोष र आदिवासि चेतनाको सङकघोष मान्न सकिन्छ ।घरबाट हिडेर केहि दिनमै त्यस्तो यायावर वा प्राचीन बस्तिमा पुग्नु अपत्यारिलो जस्तो लागे पनि बिचार संम्प्रेषणको तालमेल मिलाउन कतै छोटो पाइला र कतै दुतगतिले कलमको पाइतला दौडाउनै पर्ने हुन्छ । शायद त्यही भएर निशामले रात र दिन उज्यालो मात्र देखेका छन् । र अलि अघिल्लै युग तिर पाइतला टेक्न पुगेका छन् । आदिबासि रुखबाट भयको भ्रम अन्त्य हुनु अघि निशामको मुखबाट बोल्न उपन्यासकारले भयवाद बिश्लेशणमा खुबै परिश्रम गरेका छन् । यो भयबादको शुरुवात मात्र होइन अब आदिवासिहरु संस्कारर्,धर्म,भाषा,संस्कृति र चालचलन जोगाइ राख्ने भए पनि चेतनाको मापदण्डमा त्यस्तो नहुने दाबी हो यो । उपन्यासले आधुनिक समाजबाट यायावर जीवन शैली हुँदै फेरि वर्तमान मा फिराउछ । यो उपन्यासमा दुइ कुरा भएका छन् । पहिलो भयबादको उद्घोष र बिश्लेषण, दोश्रो आदिवासि वर्तमान समाजबाट तरुल पर्व संम्मको इतिबृत परिस्थिति ।अञ्चालीकताको हिसाबले निकै धेरै शब्दहरु पाठकहरुको लागि फलामको च्युरा चपाए जतिकै चाम्रा हुने छन् । जातीय,भाषिक,धार्मिक,सांस्कृतिक,पौराणिक दृष्टिकोणबाट आएका शब्दहरु -च्याब्रुङ,सावाला नदी,तुत्तु,याकसा,तुमवा खोला,सुम्दो गाउँ,तुम्बाङफे,तुङ्वादेन,सेःक्मुरि,मिक्चिरी फुङ,चोःत्लुङ,तुम्सिङ् र तिगेनजोङ्ना आदि । यि बाहेक आदिबासि उपन्यास समस्त पाठकहरुको लागि नौलो स्वाद हो,नौलो प्रयोग हो । वर्तमान र ऐतिहासिक कालखण्डको दस्तावेज हो । आदिवासिहरुको लागि आफैले सम्हाल्न नसकेको ऐना हो । जसमा खिया लागेर आफ्नै अनुहार हेर्न प्रयत्न गर्दा गदै कठिनाई भएको छ । आफ्नै अनुहार चिन्न हैरान हुँदै ऐनाको सूरक्षा गर्न पर कतैबाट आएको सावधानी सङकेत हो । यो सावधानी आदिवासि र अघिबासि दुवै पक्षलाई हुन सक्छ । भयवादको प्रयोग र बिश्लेषण आफ्नै ठाउँमा सूरक्षित छ । समस्तमा भयवादी प्रयोग र आदिवासिहरुको वर्तमान तरुल पर्व संम्मको रुपरेखा कोदै संसारमा भएका सम्पूर्ण आदिवासिहरु प्रतिको समर्पण प्रशंसनीय छ । भयवादी प्रयोग संगै आदिवासि अवचेतन बिचारहरुको रङले रङ्गाइ रहोस उपन्यासकारको भयवादी भावनालाई ।

No comments: