Monday, May 26, 2008

भयवाद र आदिवासी उपन्यास—एक समिक्षा

भयवाद:
भय मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या हो । हाम्रा सबै गतिविधिहरू भयबाट नै संचालित हुन्छन् । मानिस भय निरपेक्ष बाँच्न सक्दैन । आय आर्जन गर्नु, सन्तान उत्पादन गर्नु, प्रतिष्ठा जोड्नु, धार्मिक बन्नु, जातीयताको कुरा गर्नु, राजनैतिक अस्तित्वको कुरा गर्नु जस्ता सबै क्रियाकलापहरूको केन्द्र भय हो । भयवादको कुरा खासै जटिल छैन । मानिसका हरेक क्रियाकलापहरू एक प्रकारले भन्ने हो भने भयबाट नै संचालन भएको पाइन्छ । भोलिको दिनको असुरक्षाको भयबाट मानिस आय आर्जनमा प्रेरित हुन्छ, निसन्तान भइन्छकी भन्ने भयले या आफ्नो सन्तानको आवश्यकताले(भय)सन्तान उत्पादनमा प्रेरित हुन्छ, समाजमा उच्च स्थानका(भय) खातिर मानिस प्रतिष्ठाप्रति सजग रहन्छ, आफ्नो मृत्युपछि र्स्वर्गको (भय) लालसाले धार्मिक हुन्छ, आफ्नो जाति र समुदायको भलाइको (भय) खातिर नश्लीय कुरा गर्छ र राज्यमा आफ्नो समावेशीता र सम्मानजनक उपस्थितिका लागि(भय) राजनीति गर्छ । यसरी हाम्रा हरेक क्रियाकलापहरू भयबाट प्रेरित भएको हामी पाउँछौं । मानिस भय कै कारण सामाजिक भयो, भयकै कारण सभ्यतातिर लम्कियो र यो आजको दुनियाँ सम्म आइपुग्यो । भय नहुँदो हो त मानिस पंक्षी झैं आकासमा कावा मात्र खाइरहेको हुने थियो होला । यसरी मानिसको जीवनका हरेक क्रियकलापलाई कुनै न कुनै भयले प्रभाव पारिरहेको हुन्छ । भय एक प्रकारको चेतना हो जसको निर्देशनमा मानिस निर्देशित छ भन्ने दृष्टिकोण नै भयवाद हो भन्ने मैले बुझेको छु ।
उपन्यासको कथानक पक्षः
नायक निसाम् निकै जिज्ञासु, बौद्धिक र तीक्ष्ण बुद्धिको मानिस हुन्छ । हरेक विषयलाई गहन रूपमा बुझ्ने र केलाउने उसको बानी हुन्छ । आफ्नो बुबा लगायतका मानिसहरूले चलाएको जातीय आन्दोलनलाई हर्ने फरक दृष्टिकोणले गर्दा उसले हप्कि खानुपरेको छ । आदिवासी र जनजातिहरूको भाषा, लिपि, धर्म, संस्कृति, इतिहास र पुरातात्विक महत्वलाई नबुझी राजनैतिक नारा लाउनुमात्र
बुद्धिमानी हैन भन्ने उसको तर्क छ । निसाम्लाई एकदिन अनौठो लक्षणसहितको बिराम शुरू हुन्छ जसले गर्दा रुने कराउने हुन्छ । उसले शरीरबाट एउटा अनौठो छायाँ निस्केर गएको देख्छ । त्यस पछि ऊ विक्षिप्त बन्दै जान्छ । यो अनौठो कुराले खैलाबैला मच्चाए पछि त्यसको निदान खोज्न र ऊभित्र उब्जिएको भय निवारण गर्न एक दिन सिर्द्धार्थ गौतम जस्तै घरबाट ऊ बाहिर निस्किन्छ । मनमा छायाँले पारेको गहिरो प्रभाव र भयको कारण ऊ भौतारिदै जाँदा यस्तो ठाउँमा पुग्छ जुन ठाउँ आदिवासी गाउँ हुन्छ । त्यहाँ आदिवासीहरूको आस्थाको केन्द्र आदिम रूख र सावाला खोला पनि फेला पर्छन् । त्यो ठाउँको नाम सुम्दो गाउँ हुन्छ जहाँ आदिवासीहरू वर्षोनी आदिम रूखको पूजा गर्छन र सावाला खोलामा नुहाइधुवाइ गर्ने गर्छन् । धेरै वर्षअघि त्यो आदिम रूख भएको स्थानमा आदिवासी दरबार थियो भन्ने विश्वास गरिन्छ । निसाम् ती आदिवासी समाजमा पुग्दा आफूलाई केही हल्का महसुस गर्छ । उसले त्यहाँ आदिवासी सम्बन्धी प्रशस्त प्राचीन सभ्यता र संस्कारहरू, पूजाआजा गर्ने तरिका र प्रकृतिका सम्बन्धमा धेरै कुराहरू जान्ने मौका पनि पाउँछ । आदिवासीहरूका तुत्तु र आदिवासी बालासित निकै कुरा बुझ्न पाउँछ र ऊ प्रकृतिप्रेमी बन्दै जान्छ । आदिवासीहरू सभ्य, शालीन र भद्र हुन्छन् । निसाम्ले छायाँको बारेमा जिज्ञासा राख्दा आदिवासी बालाले "आदिम रूखलाई हर्नु त्यसबाट तिम्रो जिज्ञासा पूरा हुन्छ" भनेकीले उसको मनोबल बढ्छ । एकदिन उसले त्यो ठाउँ छोड्छ । अघि बढ्दै जाँदा जङ्खलको बीचमा ऊँ उच्चारण गर्दै होम गरिरहेको मान्छेहरू भएको ठाउँमा पुग्छ । त्यहाँ उसले सिद्ध पुरूषहरूलाई भेट्छ र छायाँको बारेमा जिज्ञासा राख्छ । उनीहरूले "त्यो आध्यात्मिक आत्माको खेल हो" भन्छन् । त्यो जवाफले चित्त नबुझे पछि ऊ फेरि घुम्दैघुम्दै सुम्दो गाउँ नै आइपुग्छ । अनि ऊ त्यहीँ रमाउँछ । नयाँ वर्षो अघिल्लो दिन आदिवासीहरू त्यहाँ जाग्रम बस्छन् । नाच्ने नाच्छन्, कुरा गर्ने गर्छन्, सुत्ने सुत्छन् । निसाम् भने जुनेली रातमा आदिम रूखलाई हर्न थाल्छ । त्यहाँ उसले तिलस्मिक कुराहरू देख्न थाल्छ । आदिम रूखका पातहरू ठूला ठूला हुन थाल्छ । त्यहाँ "ङ" मन्त्र लेखिएको हुन्छ । चाख लिएर हेर्दै जाँदा त्यहाँ त उसले कला, दर्शन, साहित्य सबै देख्न थाल्छ । उसको छायाँको पनि विभिन्न रूप देख्न थाल्छ । विभिन्न दिशामा फर्केको रूखको हाँगाले पानीजस्तै, बादलजस्तै, मान्छेजस्तै, अर्ध दृश्य मान्छेजस्तै आकार बनाउँदैबिगार्दै गरेको देख्छ । र त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोल्न थालेको भान हुन्छ । ऊ अचेत भएपनि त्यो किरिङ्गमिरिङ्ग मान्छेले बोलेको कुरा सुनिरहेको हुन्छ । त्यो भन्दै जान्छ "तिमीमा मात्र हैन हरेक मानिसमा भयको बास हुन्छ यो कताबाट आउँछ र कता जान्छ थाहा हुँदैन । जब यो सक्रिय हुन्छ चेतनशील मान्छेहरू डराउने र काम्ने गर्दछन् । तर यसबाट भागेर कहिले भाग्न सकिदैन । यसको रूप पनि छिनछिनमा बदलिरहन्छ । समस्या, चिन्ता, अहम्ताजस्ता कुराहरू मिलेर यो ठूलो हुन्छ । शरीर यसको अधिनमा हुन्छ र शरीर भएर यो ब्रम्हाण्डमा घुम्छ । चेतनाको आधारबाट जीवन चल्छ र जीवनको आधारबाट संसार । जीवन र जगत "प्रकट"को नटुङ्गिने श्रृंखला हो । यो अविरल हुन्छ । तिमीले देखिरहेको छायाँ छायाँमात्र नभएर भय संग्रहित एउटा ग्रह हो जंगलजंगल भौतारिएर यो सानो हुँदैन यसलाई सानो बनाउन यसको रूप चिन्नु पर्छ र नयाँ प्रकटमा लैजानु पर्छ । भयजति कम हुन्छ उति जीवन सहज हुन्छ ।" अर्ध बेहोसीमै पनि निसाम्ले उक्त अर्ध दृश्य मान्छेको कुराहरू सुन्छ । उसमा एक्कासी ताजगी देखा पर्छ र उ भित्रका सबै भ्रमहरू सकिन्छन् । यसरी उसले खोजी गरेको छायाँको रहस्य भय नै रहेछ भन्ने उसलाई चेतना-प्रकट) हुन्छ । त्यो ज्ञानको प्राप्ति पछि निसाम् घर फर्किन्छ ।
उपन्यासमा प्रयुक्त भाव:
उपन्यासकारले बडो कलात्मक तरिकाले उपन्यासको कथावस्तु तयार गरेका छन् । यसको प्रमुख उद्देश्य भन्नु भयवादकै व्याख्या हो तथापी उपन्यासको पृष्ठभूमिमा खासगरिकन लिम्बू किराँती आदिवासीहरूको ऐतिहासिक पक्ष, सभ्यता र विविध साँकृतिक पक्षहरू, भाषा, लिपि र धर्मप्रतिको महत्व दर्शिएकोछ । मलाई लाग्छ यो लेखकको विचार र आस्था दुवैको मेल हो र नस्लीय चेतनाबोध हो । उपन्यास भित्र किराँती आदिवासी सम्बन्धी धेरै पुराना सभ्यता, रीतिरिवाजहरू, प्रकृति र उनीहरूका रहनसहन बीचको वास्तविकताहरू उल्लेख गरिएका छन् । लेखकले सोझा आदिवासी जनजातिहरूको आदिम सभ्यतालाई इतिहासको कुनै काल खण्डमा हतियारधारी कुनै समूहले धोका दिएको कुरा उल्लेख गरेका छन् । यो धेरै हदसम्म सत्य हो । किराँती आदिवासीहरू प्रकृति पूजक हुन उनीहरू प्रकृतिसँगै रमाउँछन् । उनीहरू रूख, ढुंगा, माटो र हावापानीको पूजा गर्दछन् । आदिवासी भनेको रूख, बिरूवा, हिमाल, फूल, आकाश जस्तै धर्तीका सौर्न्दर्य हुन् । फूल नहुँदा धर्ती सुन्दर देखिदैन भन्ने सन्देश दिइएको छ । उपन्यासले एउटा महत्वपूर्ण कुरा जातीय मुद्दाहरूको कुरा गर्दा उक्त जातिका भाषा, लिपि, धर्म र संस्कृतिलाई कहिले बिर्सनु हुन्न भन्ने सन्देश दिएको छ भने आदिवासी जनजातिहरूले जाँड रक्सी जस्ता मादक चीजहरू त्याग गर्दै जानु पर्ने अर्को सन्देश पनि छ ।
आदिवासी शब्दावलीहरूः
आदिम रूख त उपन्यासमा एउटा केन्द्रीय पक्ष भएरै आएको छ । यसको खास ऐतिहासिक र प्राचीन महत्व पनि छ । नायकले भयत्व पनि यही आदिम रूखबाट पाएको छ । सावाला खोला, सुम्दो गाँउ, तुङ्वादेन गाउँहरूपनि आदिवासीहरूको आस्थाका स्थलहरू हुन् । तरूल, साप्सिङ्ख, चिराइतो, ओखर, कटुस, रूद्राक्ष, अदुवा, जाँडरक्सी, अछेता पाती, अम्लिसो, घुङ्गरिङ्ग, तीतेपाती, जडिबुटी, पत्थर, कालो ढुंगा, शिलालेख, किनिमा, सारग्याम्मा, याङ्खवेन, फादोको अचार, फिलिङ्खेको अचारजस्ता थुप्रै शब्दहरूले आदिवासी उपन्यासको शोभा बढाएको छ । जो आदिवासीहरूको दैनिक जीवनमा अभिन्न अंशहरू भएर रहेका छन् । त्यसै गरेर बनदेउता, जलदेउता, अग्निदेउता, रूखदेउता, बाँदरदेउता, र्सपदेउता र सिकारीदेउताहरूले उपन्यासलाई आदिवासीमय बनाएका छन् ।
छायाँ:
वास्तवमा उपन्यासकारले बुझाउन खोजेको मुख्य कुरा भयवाद हो । यो कुरालाई उपन्यासमा छायाँको माध्यमले बुझाउन खोजिएको छ । नायकलाई आफ्नो शरीरबाट निस्केर गएको जस्तो लाग्ने, दुःखपिडा दिने वस्तु अन्ततः छायाँरूपी भय नै रहेछ भन्ने चेतना भएको छ जसलाई उपन्यासकारले "प्रकट" भनेका छन् । यसरी उपन्यासमा छायाँ एउटा बिम्ब नै बनेर आएको छ । अथवा छायाँलाई दार्शनिक हिसाबले मानिसको जीवनमा व्याप्त भइरहने भयको प्रतिनिधि बनाइएको छ ।देश सुब्बाले व्याख्या गरेको भयवादलाई मैले कति बुझेँ कसरी बुझेँ अनि अरूले कसरी बुझ्छन त्यो मलाई थाहा छैन । आखिर सिद्धान्त र विचार एउटा मानक पनि हो । मानिदिए मान्यता पाउँछ नमान्नेहरूले अर्को तर्क राखिदिन्छन् । भयवादलाई आत्मासात गर्ने हो भने यो ब्यवहारिक छ । साँच्चै नै मानिसहरू एउटा न एउटा डर र भयले प्रेरित भएकै छ । तर भय आफैमा एउटा नकारात्मक वस्तु भएकोले विचारको तर्कलाई यसले केही हानी पु-याउँदो रहेछ । जस्तो मानिसका सबै क्रियाकलापहरू भयले मात्र प्रेरित हुन्छ भन्नु नकारात्मक विचारको उपज हो भन्ने तर्क पनि आउन सक्छ । किनकी मानिसले हर्ष र खुशी अनि आनन्दका साथ पनि धेरै कामहरू गरिरहेका हुन्छन् । जीवनमा भयमात्र व्याप्त छ भन्नु सतप्रतिशत सही त नहोला । जे होस भयलाई अर्को शब्दमा मानिसलाई निर्देशित गर्ने एउटा अपरिहार्य चेतनाको रूपमा बुझ्ने हो भने राम्रै होला ।मलाई लागेका अन्य केही कुराहरू पनि उल्लेख गर्नै पर्छ । "मान्छेका शरीरमा भएका लवणहरू, आवाजहरू उसको मृत्युपछि यसै पृथ्वीको वरिपरि छरिएर बसेको हुन्छ जो अन्य लवणहरूसित मिसिएर नयाँ वस्तुहरू बन्दछ । मान्छेको सोचाइहरू मान्छे मरेपछि कतै छरिएर बसेको हुन्छ ।""संसार युद्धमय छ ।""आत्मालाई शास्त्रीय भाषामा सत्य भन्छौं ।" जस्ता केही कुराहरू मेरा लागि केही अमुर्त लागे।"ङ" मन्त्रको तथ्य सप्रमाण प्रष्ट भइदिएन ।नायकलाई छायाँको पछि लगाइदिएर भयको अवधारणा प्रष्टयाउन खोजेको भान हुन्छ । भयवादले जीवनलाई हेर्ने खास दृष्टिकोण प्रष्ट भएन भयको पछि हिँडिरहनु मात्र मानिसको काम हो की जस्तो लाग्ने हुन्छ ।उपन्यासको नाम "आदिवासी" राखिनुमा कति नस्लीय सौर्न्दर्यबोधमा आधारित छ भन्ने कुराले प्रेरित गरेको देखिन्छ ।अन्तमा, उपन्यासको भाषाशैली खारिएको र मीठो छ । प्रशस्त आदिवासी किराँती मिथकहरू छन् । एक प्रकारले यो एउटा आदिवासी प्राचीनताको उत्खनन् पनि हो । जहाँ पुराना किवदन्तीहरू, संस्कारहरू अनि ऐतिहासिक पक्षहरूको ज्ञान पनि पाइन्छ । त्यसै गरेर पुस्तक आकर्ष छ । आवरणको तस्बीरले उपन्यासकै गरिमा बोकेकोछ । भूमिका नेपाली साहित्यका लोकप्रिय साहित्यकारहरूले लेखिदिएका छन् । कागजको स्तरियता राम्रो छ तैपनि मूल्य-हङ्खकङ्ख डलर तीस र ने.रू. एक सय पचास मात्र) सस्तो राखिएको छ । यति राम्रो कति प्रकाशन गर्ने सृजनशील साहित्य समाज धन्यवादको पात्र छ । लेखकको उचाइलाई "अपमान" उपन्यास पछि "आदिवासी" उपन्यासले अझ माथि लाने कुरामा कुनै शंकै छैन । मेरो उत्तोरोत्तर प्रगतिको कामना लेखकलाई ।

No comments: