Thursday, June 19, 2008

आदिवासी र भयवाद

दीप निरीह
उपन्यासकार देश सुब्बाको हालसालै प्रकाशित भयवादी उपन्यास आदिवासी भयवादको नौलो प्रयोगको रूपमा प्रस्तुत भएको छ । लेखकले उपन्यासको माध्यमबाट निकै विषयवस्तुहरूलाई डोर्‍याउन खोजेका छन् । तर पनि त्यसमा मुख्यरूपले आदिवासी र भयवादले नै प्रधानता पाएको छ । आदिवासी पात्रबाट मुख्य गरेर आदिवासीहरूको विभिन्न धार्मिक तथा पौराणिक स्थल आदिवासीहरूको ऐतिहासिक स्थल र किमदन्ती, धर्म सँस्कृति तथा रीतिरिवाजहरूबाट खेलाउँदै आदिवासीहरूको मनभित्र आफ्नो गरिमामय स्थल बनाउन सफल हुनु भएको छ । त्यस हिसाबले आदिवासी शीर्षक यसभित्र भएका घट्ना क्रमले उपन्यासलाई सजीव तुल्याएको छ । भयवाद पनि र्सार्थक छ कि छैन भनेर सुझावको लागि पहिले भयवाद के हो भन्ने तथ्यलाई बुझन जरुरी हुन्छ । भयवादलाई बुझेर मात्र यहाँ भएका घट्ना क्रमहरूले भयवादलाई व्याख्या गर्न सकेको छ कि छैन कुरा व्याख्या गर्न सकिन्छ ।
यस पृथ्वीमा जीवन, चेतनाको सृष्टि र विकास भएको दिनदेखि सायद भय पनि समानान्तर हिँडिरहेको छ । मैले यहाँ सायद लेख्नुको कारण पृथ्वीमा जीवन विभिन्न कालखण्डमा विभिन्न परिवर्तन हुँदै यहाँसम्म आइपुगेको छ र भयपनि विकास र परिवर्तनसँगै परिवर्तन हुँदै आएको हुन सक्छ । किन कि जीवनको विकास क्रमलाई हेर्दा वातावरण र परिस्थितिको प्रभाव अनुसार आदिकालदेखि आजसम्म आइपुग्दा जीवनचक्रहरूले अनेकौ चरणहरूमा खेलेको कतिपय उदाहरण हाम्रो सामू छ । यसरी नै भय पनि काल र परिस्थितिको आवश्यकता अनुसार विकास भएको हुन सक्छ । भय प्राणीहरूको चेतनाको आकार अनुसार फरक हुन्छ । कमिला, हाती, माछा, पन्छी र मानिसहरूमा फरक फरक चेतना हुन्छ र परिणाम पनि फरक फरक हुन्छ । त्यसरी नै वातावरण तथा परिस्थिति अनुसार भयको प्रकार पनि फरकफरक हुन्छ । फरक वातावरण र परिस्थितिमा भएको सहजता पनि फरक हुन्छ । प्राणीहरूलाई यसले हरेकपल सचेत गराइरहेको हुन्छ । भयले पनि जीवनको हरेक मोडहरूमा अहम भूमिका निर्वाह गरिरहेको हुन्छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चेतनशील प्राणीहरूमा समस्या तथा भय देखाउने गर्छ ।
सरल र छोटो तरीकाले भयवादलाई व्याख्या गर्नुपर्दा कुनै पनि प्राणी संगाले प्रयास वा अप्रत्यक्ष रूपले उभिन आएको भय बाट मुक्ति पाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरेको एक वा एकभन्दा बढी सिलसिलाबद्ध तरीकाले गरेको विचारलाई भयवाद भनिन्छ ।
ऋब यी भयको व्याख्यालाई आधार मानेर हाम्रो पृथ्वीलाई हेर्ने हो भने त्यहाँ भएका सम्पूर्ण कुराहरू कुनै न कुनै रूपमा भयवादबाट प्रभावित भएको पाउँछौ । चेतनशील प्राणीले गर्ने प्रत्येक क्रियाकलाप भयबाट शुरु भएर भयवादमा पूर्ण हुन्छ । लोभ, दुःख,असन्तोष जस्ता त्रियाकलापहरू पनि भयबाट शुरु भएर भयवाद सम्म पुग्छ । भन्नुको तार्त्पर्य भयवाद बिना कुनै पनि काम पूर्ण हुँदैन । त्यसैले हाम्रो संसार पनि भयवाद कै नौकामा चढेर आदिकालदेखि अहिलेको वर्तमानकाल सम्म आइपुगेको हो भन्दा अत्तिशयोक्ती नहोला ।
भ्यवादको माथिका कुरालाई विचार गर्दै आदिवासी आँखाले आदिवासी उपन्यास हेर्ने हो भने उपन्यासकारले उपन्यासको घट्नाक्रमलाई भयवादी धारमा व्याख्या गर्न निकै हदसम्म सफल भएका छन् । पात्र निसाम्ले आफूभित्रको भयलाई पहिचान र त्यसको निदानको लागि यसको वास्तविकता बुझनको लागि भयबाट मुक्ति पाउनको लागि मानसिक र भौतिक दुवै तरिकाले क्रमबद्धरूपमा संघर्ष गरेको छ । विभिन्न ठाउँ धर्मस्थलहरूमा विभिन्न गुरु धर्म गुरुसँग आफ्नो भयको बारेमा जिज्ञासा गरेको छ र त्यसको पहिचान र निदानको लागि निकै चर्चा गरेको छ । भयबाट सहजता पाउनको लागि भोक प्यासको वास्ता नगरी निरन्तर लागिपरेको छ । अन्त्यमा आफैभित्रबाट वा आफ्नै चेतनाबाट ज्ञान प्रस्फुटन(enlightenment) भई भयको पहिचान गरी निदानको उपायहरू पत्ता लगाएर भय मुक्तिको घटनाक्रमलाई देखाउनु भएको छ । भय एउटा समस्या हो र भयवाद समस्याको समाधान भन्ने तथ्यलाई निसाम्भित्र उत्पन्न अध्यात्मिक भयलाई अध्यात्मिक ज्ञानबाट निवारण गरेर पुस्टि गर्नु भएको छ । तर्सथ भयवादलाई पनि राम्रैसँग उपन्यासमा देखाउन सफल हुनु भएको छ ।

No comments: