Friday, June 20, 2008

नेपाली आधुनिकताका मिश्रति स्वरूप

संजीव उप्रेती
हरेक समाज र संस्कृतिले आफूलाई पहिलेका समाज/संस्कृतिको तुलनामा आधुनिक भनेर परिभाषित गर्ने गर्छ । रोमन साम्राज्यले ग्रीसको तुलनामा आफूलाई आधुनिक भन्यो । पुनःजागरणकालको युरोपले मध्ययुगिन युरोपको तुलनामा आफूलाई बढी आधुनिक मान्यो । मल्लकालीन नेपाल पनि किरात वा लिच्छविकालीन नेपालभन्दा बढी आधुनिक थियो । यस्तो अवस्थामा आधुनिकताबारे छलफल हुदा प्रायः सधैं सत्रौं र अठारौं शताब्दीदेखि व्यापकता पाउदै गएको पश्चिमेली आधुनिकताबारे मात्र किन छलफल हुने गर्छ -
उत्तर स्पष्ट छ- युरोपेली आधुनिकताको छहारीमुनि केही महत्त्वपूर्ण संस्थागत विकास भए । यस्ता संस्थागत विकास जसले समसामयिक विश्वलाई अहिलेसम्म पनि प्रभावित पार्दै आएका छन् । पु“जीवादको विकास, त्यसस“ग जोडिएको युरोपेली औपनिवेशवादको इतिहास, औद्योगीकरण र सहरीकरणका प्रक्रिया, आधुनिक राष्ट्रनिर्माण तथा नैतिक मुद्दाहरूको अलौकिकबाट लौकिक धरातलमा विस्थापन युरोपेली आधुनिकताका मुख्य पक्ष थिए । ती सबै पक्षले समसामयिक संसारको आधुनिकतालाई धेरै हदसम्म निर्देशित गरेका छन् ।
प्रश्न उठ्छ ? त्यसो भए के केन्या, जिम्बाबवे, मलेसिया, नेपाल, भारत वा भुटानजस्ता अ-पश्चिमेली राष्ट्रका आफ्नै किसिमका आधुनिकता छैनन् त ? के यी मुलुकका आधुनिकता पश्चिमेली आधुनिकताका अनुकरण वा नक्कलमात्र हुन् त ? उत्तर- पक्कै होइन । भारत तथा नेपाल लगायतका अन्य अ-पश्चिमेली मुलुकमा पनि आधुनिकताका आ-आफ्नै किसिमका मौलिक अभ्यास भएका थिए । मल्लकालीन नेपालमा भएको काठमाडौं उपत्यकाको सहरीकरणको प्रारम्भिक अभ्यास नेपाली आधुनिकताको नमुना थियो । सामाजिक न्याय र लोकतन्त्रसम्बन्धी आधुनिक मान्यताका टुक्राटाक्री अभ्यासहरू अमेरिकी तथा फ्रान्सेली स्वतन्त्रता सङ्ग्रामभन्दा धेरै अघि ग्रीस र रोममा मात्र नभई भारतजस्ता अपश्चिमेली मुलुक समेतमा भइसकेका थिए । भारतमा मोहनदास गान्धीले ठूला उद्योगले निम्त्याएको पुजीवादको तुलनामा साना घरेलु उद्योगलाई र एलोपेथिक चिकित्सा प्रविधिको तुलनामा प्राकृत औषधी प्रणालीलाई प्राथमिकता दिए । त्यसबाहेक उनले औपनिवेशवादी आक्रामक संस्कृतिलाई अस्वीकार गर्दै अहिंसा र शान्तिका मानवतावादी प्रतिमानलाई पुनःस्थापना गर्ने जमर्कोसमेत गरे । स्थानिक उद्योग, प्राकृतिक औषधी र अहिंसावादी मान्यतालाई मानव तार्किकता र वैज्ञानिक "मेथड"संग मिसाउदै छुट्टै किसिमको भारतेली आधुनिकताका स्वरूप विकास गर्ने जमर्को गरे । स्थानिक, अ-पश्चिमेली आधुनिकताका यस्ता अभ्यास
अफ्रीका तथा एसियाका अन्य भूभागमा पनि हुदै आएका छन् ।
मुख्य कुरो, पहिले औपनिवेशवादको इतिहास तथा त्यसपछि समसामयिक भूमण्डलीकरणको पर्रि्रेक्ष्यले गर्दा अ-पश्चिमेली आधुनिकता स्वतन्त्र रूपले विकसित हुन सकेनन् । यदि भारत वा चीनजस्ता मुलुकले संसारभरि उपनिवेश बनाएको भए सायद समसामयिक विश्वको आधुनिकता छुट्टै प्रकारको हुने थियो । काठमाडौं वा दिल्लीमा अङ्ग्रेजी भाषा सिकाउने केन्द्रहरूको बिगबिगी बढेझैं न्युयोर्क र लन्डनमा हिन्दी वा चिनिया“ भाषा सिकाउने संस्थाहरू छ्याछ्याप्ती हुने थिए । तर इतिहासको प्रवाहलाई उपनिवेशवादको इतिहासले प्रभावित गर्‍यो । पश्चिमेली मुलुकहरू पुजी सङ्कलनका प्रारम्भिक केन्द्र बने । प्रविधि, अनुसन्धान तथा शिक्षाका मुख्य केन्द्र बने ।
इतिहासको त्यसै प्रवाहको कारणले गर्दा अ-पश्चिमेली राष्ट्रका आधुनिकता विशुद्ध नभएर मिश्रति किसिमका बन्न पुगेका छन् । आधुनिक नेपाली सङ्गीत पश्चिमेली सङ्गीतका "आधुनिक" लय तथा वाद्यहरूको प्रयोगबाट प्रभावित छ । आधुनिक नेपाली चित्रकला तथा कथा/उपन्यासको आख्यान शैली पश्चिमेली आधुनिकताका शैलीबाट प्रभावित छ । शशी शाह, उत्तम नेपाली, मनोजबाबु मिश्र, कृष्ण मानन्धर, किरण मानन्धर तथा दुर्गा बरालजस्ता आधुनिक नेपाली चित्रकारले पश्चिमेली आधुनिकताका अतियथार्थवाद तथा अभिव्यञ्जनावादजस्ता शैली तथा नेपाली विषयवस्तु, पूर्वेली मिथक तथा स्थानिक कागज तथा रङ्गहरूको प्रयोगलाई मिसाउदै नया“ किसिमको नेपाली आधुनिकताका मिश्रति स्वरूपको निर्माण गरेका छन् । इन्द्रबहादुर राई इश्वरवल्लव तथा वैरागी काइलाजस्ता आयामेली कवि तथा ध्रुवचन्द्र गौतम र सरुभक्त जस्ता प्रयोगवादी नेपाली उपन्यासकारले पनि त्यस्तैगरी पश्चिमेली शैली तथा स्थानिक विषयवस्तुको मिश्रण गरेका छन् । ठाकुरप्रसाद मैनालीदेखि लिएर लय मैनाली, गोपाल कलाप्रेमी श्रेष्ठ, ओम खत्री र राजन काफ्लेजस्ता समसामयिक आधुनिक नेपाली मूर्तिकारहरूको सम्बन्धमा पनि त्यही कुरो लागू हुन्छ । पश्चिमेली आधुनिक मूर्तिकलाका स्वरूप र विशिष्ट किसिमका नेपाली विषयवस्तु, नेपाली माटो र अन्य निर्माण सामग्रीहरूको प्रयोगमार्फ यी मूर्तिकारहरूले विशेष किसिमका मिश्रति नेपाली आधुनिक/उत्तर-आधुनिक कृतिको सिर्जना गरेका छन् ।
नेपाली आधुनिकतावादी कृतिहरूझैं नेपाली उत्तर-आधुनिकतावादी रचनाहरूलाई पनि पश्चिमी उत्तर- आधुनिकतावादको सिधा नक्कल वा अनुकरण भन्न मिल्दैन । लीलालेखनको प्रविधि पहिल्याउने उपन्यासकार/ कथाकारले पश्चिमेली उत्तर-आधुनिक शैलीलाई नेपाली पर्रि्रेक्ष्यमा रूपान्तरित गरेका छन् । एकातिर ती लेखक विद्याभञ्जन, पराख्यान तथा विद्या मिश्रणजस्ता पश्चिमेली उत्तर- आधुनिकतावादी शैली प्रयोग गर्छन् । अर्कोतिर तिनका कृतिमा पूर्वेली आध्यात्मवादी विश्वदृष्टि तथा महाभारत र रामायणजस्ता पूर्वेली आख्यान शैलीको प्रभाव पनि देखिन्छ ।
पश्चिमेली उत्तर-आधुनिक विश्वदृष्टिबाट प्रभावित रङ्गवाद, विलयनवाद, सिर्जनशील अराजकता, चक्रव्युह संचेतना तथा भयवादजस्ता साहित्यिक आन्दोलन संग आबद्ध लेखकका लेख/रचनामा पनि यस्तै किसिमको समिश्रण पाइन्छ । त्यस्तै गरेर कलाको क्षेत्रलाई नियाल्दा अस्मिना रञ्जित, सुजन चित्रकार, जुपिटर प्रधान, सुविना श्रेष्ठ, गोपाल कलाप्रेमी श्रेष्ठ, सुदर्शन तथा सुनिता राणा लगायतका अन्य धेरै नेपाली उत्तर-आधुनिक कलाकारले प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) तथा प्रदर्शनकारी कला (परफरमेन्स आर्ट) का पश्चिमेली उत्तर-आधुनिक शैली र नेपाली विषयवस्तुको संयोजन गर्दै कलाका राम्रा उत्तर-आधुनिक रचनाहरूको सृष्टि गरेका छन् । यस्ता रचना मौलिक र मिश्रति दुवै छन् ।
यसको मतलब अ-पश्चिमेली मुलुकको संस्कृतिमात्र मिश्रति किसिमको छ र पश्चिमेली राष्ट्रका सांस्कृतिक स्वरूपहरू विशुद्ध छन् भन्ने होइन । विश्वव्यापीकरणको पर्रि्रेक्ष्यमा पश्चिमेली संस्कृति पनि अन्य संस्कृतिसंग मिसिदै आएको छ । आधुनिकतावादी, घनवादी चित्रकार पाब्लो पिकासो अफ्रीकी मुखुन्डोको आकृति र शैलीबाट प्रभावित थिए भन्ने कुरो त कलाक्षेत्रमा चासो राख्ने धेरैलाई थाहै छ । अहिलेको समयमा अ-पश्चिमेली राष्ट्रका धेरै मानिस शिक्षा र रोजगारको खोजमा पश्चिममा गई बसेकाले उक्त मिश्रण झन् तीव्र भएको छ । तर यसो हुदाहुदै पनि विश्वव्यापीकरणका "असमान प्रवाह"ले गर्दा पश्चिमी वस्तु, विचार, प्रविधि, मानिस र शैलीहरू सजिलै नेपाल र भारतजस्ता अ-पश्चिमेली मुलुकमा आइपुग्छन् । अ-पश्चिमेली मुलुकका कृति, विचार र शैली पनि पश्चिममा पुग्छन्, तर पुग्ने बाटो अलि असमतल र अप्ठ्यारो पक्कै छ । अर्का शब्दमा भन्दा समसामयिक सांस्कृतिक मिश्रणले तुलनात्मक दृष्टिले पश्चिमीभन्दा अ-पश्चिमेली मुलुकलाई बढी प्रभावित गरेको छ ।
पशुपतितिर घुम्दै जाने क्रममा सुवर्ण वैद्य नाम गरेका घाटे वैद्यलाई भेटेको घटना सम्झन्छु । सुवर्ण
वैद्यका बुबा तथा बाजे पनि घाटे वैद्य थिए । "घाटमा अन्तिम अवस्थामा ल्याइएकामध्ये नब्बे प्रतिशतभन्दा बढी मानिस मर्थे", सुवर्णले मलाई भने, "त्यो देखेपछि मलाई लाग्यो एउटा नया ढङ्गको आधुनिक घाटको अस्पताल किन नबनाउने -"
०५२ सालमा एउटा खाटबाट सुरु भएको उनको घाटको अस्पतालले अहिले ठूलै रूप लिइसकेको छ । उक्त अस्पतालमा पारम्परिक जडिबुटी, आयुर्वेद तथा पश्चिमेली एलोपेथिक चिकित्सा प्रणाली दुवै प्रयोग गरिन्छ । एकातिर बिरामीलाई पारम्परिक विधिबाट उपचार गरिन्छ भने अर्कोतिर अक्सिजन सिलिन्डर र सलाइन पानीजस्ता आधुनिक प्रणालीको साथसाथै उपयोग गरिन्छ । सुवर्णले मलाई बताए- नया किसिमको मिश्रति प्रणालीको प्रयोग गर्नथालेदेखि पैंतीस प्रतिशतभन्दा बढी मानिस ठीक भएर घर र्फकन थालेका छन् । कतिले उनलाई आरोप पनि लगाए- सुवर्ण चिकित्साका पश्चिमेली शैलीको प्रयोग गरेर पूर्वेली उपचारको परम्पराको अवमूल्यन गर्‍यो । तर यी सब आलोचनाका बाबजुद सुवर्ण आफ्नो साधनामा निरन्तर लागेकै छन् । उनको तर्क- मुख्य कुरो मान्छे ठीक हुनु हो । मर्न लागेको मानिसलाई पश्चिमेली औषधीले ठीक गर्‍यो वा पूर्वेली जडिबुटीले भन्ने महत्त्वपू होइन । मान्छे बाच्यो, त्यो बढी महत्त्वपूर्ण हो । सुवर्ण वैद्यको घाटको अस्पताल नेपाली आधुनिकताको विशिष्ट उदाहरण हो । यस्तो आधुनिकता जुन मिश्रति हुदाहुदै पनि मौलिक छ । पश्चिमेली शैली र प्रणालीहरूको प्रयोग गर्दागर्दै पनि विशिष्ट किसिमको नेपालीपनको छाप बोकेको छ ।
अर्को प्रश्न, के अ-पश्चिमेली आधुनिकताका सांस्कृतिक स्वरूपहरू मिश्रतिमात्र हुन सक्छन्, विशुद्ध हुन सक्दैनन् ? उत्तर छ- आधुनिकताको सांस्कृतिक/सौर्न्दर्यपरक पाटो यसका अन्य दुइ पाटा वा पु“जीवाद/प्राविधिक र राजनीतिक/नैतिक पाटासंग जोडिएको छ -यी तीनवटै पाटाबारे ११ जेठमा छापिएको शृङखलाको प्रथम लेखमा छलफल गरेको छु) । यदि भारत, चीन तथा नेपालजस्ता देशको भोलि गएर द्रुत आर्थिक र प्राविधिक विकास भएको खण्डमा, यी राष्ट्रहरू प्रविधि र पुजी सङ्कलनका मुख्य केन्द्र बनेको खण्डमा यहाका कलाकार, साहित्यकार तथा नाटककारहरूलाई अ-पश्चिमेली आधुनिकताका आफ्नै किसिमका विशुद्ध स्वरूपको निर्माण गर्ने बढी अवसर र विकल्प उपलब्ध हुनेछ । यो भविष्यको कुरो हो । हुन्छ-हुदैन, समयले बताउनेछ ।
अन्तिम बुदा- एकातिर हामी पश्चिमेली र पूवेली विषयवस्तु र शैली मिसिएको मिश्रति आधुनिकता बाच्दैछौं भने अर्कातिर नेपालको समसामयिक आधुनिकतामा पूर्व-आधुनिक र उत्तर-आधुनिक दुवै किसिमका विश्वदृष्टि, शैली र विषयहरू मिसिएका छन् । कहिले हामी पशुपति र गुह्यश्वरीको मन्दिरमा पुगी आस्थाका फूल चढाउदै इश्वरीय सत्ताप्रतिको पूर्व-आधुनिक विश्वदृष्टि बाच्दै हुन्छौं । कहिले इन्टरनेटका विद्युतीय भूलभुलैया वा हाइपर टेक्स्टको संसार छिरी उत्तर-आधुनिक समय बाच्दै हुन्छौं । पूर्व-आधुनिकता र उत्तर- आधुनिकताको यस किसिमको समिश्रण समसामयिक नेपाली उपन्यास, नाटक, कविता, चित्रकला र मूर्तिकलामा पनि देखिन्छ । त्यसैले एक अर्थमा भन्दा हामी पूर्व-आधुनिक र उत्तर-आधुनिक दुवै साथसाथै छौं । पूर्व-आधुनिकता र उत्तर-आधुनिकताको उक्त मिश्रणले नै नेपालको समसामयिक आधुनिकतालाई परिभाषित गरेको छ ।
मुख्य कुरो के भने जुनसुकै राष्ट्र वा संस्कृतिको आधुनिकताले पनि आफूलाई बारम्बार दोहोर्‍याएर हेर्नुपर्छ, आफ्नो पुनःलेखन आफैं गरिरहनुपर्छ । आफ्नो पुनःलेखन गर्न नसक्ने आधुनिकता पुरानो हुदै जान्छ, कमजोर हुदै गई पूर्व-आधुनिक स्वरूपमा रूपान्तरित हुदै जान्छ । संविधानसभाको निर्वाचनपछिको नेपालको समसामयिक समय पुनःलेखनको समय हो । संविधान कानुन, सन्धि र शिक्षा व्यवस्थादेखि लिएर कला, नाटक, उपन्यास, मूर्तिकला, फिल्म र भवन निर्माण कलाका परम्परालाई समेत पुनःलेखन गर्नुपर्ने समय आएको छ । सोच्ने ढङ्ग र विश्वदृष्टिको पुनःलेखन गर्ने समय आएको छ । नेपालका राजनेता, कानुनविद, शिक्षाविद तथा अर्थशास्त्रीदेखि लिएर उपन्यासकार, नाटककार, चित्रकार, फिल्म निर्देशक तथा आर्किटेक्टले यस अवसरको कसरी प्रयोग गर्नेछन्, नेपाली आधुनिकताका के-कस्ता पुनःलेखन गर्ने छन् भन्ने मुद्दा मुख्य प्रश्नको रूपमा रहेको छ । यस प्रश्नको उत्तरले नै भविष्यमा अवतरित हुने नेपाली आधुनिकता/ उत्तर- आधुनिकताका राजनीतिक, नैतिक, पु“जीवादी, प्राविधिक र सांस्कृतिक सौर्न्दर्यपरक पक्षहरूलाई परिभाषित गर्नेछ ।

No comments: