Friday, July 10, 2009

श्रष्टाहरुसितको एक बिहान

अशोक राई
जुलाई १ मा हुने बृहत साहित्यिक कार्यक्रम बैराँगी काइँलाको अस्वस्थताले स्थगित भएपछि त्यस दिनलाई छुट्याइएको छुट्टिलाई सदुपयोग गर्न देश सुब्बाको निम्तोमा उहाँहरुले केही वर्षदेखि चलाइल्याएको नियमित साहित्यिक अन्तरविमर्श भेटघाटमा चुनवानतिर लागेँ । लाइचिकोक्को एमटीआर स्टेशन पुग्दा भयवादका प्रवर्तक तथा उपन्यासकार देश सुब्बालाई उही परिचित ‘भयवादी झोला’ र रातको ड्यूटीको धङधगीमा पनि मुसुमुसु हाँस्दै मतिर लम्किरहेको भेटेँ । यहाँ भयवादी झोला यसकारण भनिएको कि उहाँले त्यो झोलामा सधैं ‘भयवादी दस्ताबेजहरु’ बोक्ने गर्नुहुन्छ । चुनवान पुग्दा भेट भयो, अहिले कवितामा छलाङ मार्दै गर्नुभएका कवि एवं गीतकार डी.बी. पालुङ्गा । म्याक्डोनलमा बस्दै गर्दा आउनु भयो, अर्का गीतकार विमल राई अनि लगत्तै आइपुग्नु भयो पुराना कवि चन्द्र सम्बाहाम्फे । आउने भनेर प्रतीक्षा गरिएका समीक्षक प्रेम राई भने काम विशेषले गर्दा आइपुग्नु भएन, उहाँसित भेट्ने धोको अधुरै भयो । बहिनी केवल गंगा गुरुङ्ग पनि समय नपाएर आउनु भएन । जे होस्, साहित्यलाई माया गर्ने हङकङका पुराना केही श्रष्टाहरुसितको सानो बसाइमा शुरु भयो हङकङको नेपाली साहित्य, साहित्यकार र डायस्पोरिक सृजनाहरुबारेको छलफल ।
हङकङमा धेरै प्रकारका साहित्यकारहरु छन् । केही होल टाइमर छन् र मूख्य लाइनमा हावी छन् । कोही पार्ट टाइमर छन् र यदाकदा देखापर्छन् । कोही कुनै समय नाम कमाइसकेर पनि आज निष्कृय छन् । कोही प्रतिभावान छन् तर बाहिर देखापर्दैनन् । कोही गहन समीक्षा गर्न सक्षम छन् तथापि लेख्दैनन् । उहाँहरुको बारेमा साथीहरुसित बुझ्न पाएँ । को के के गर्दैछन् भन्ने कुरा संक्षेपमा त्यहाँ थाहा पाएँ । त्यस्तै कसको बैचारिक धार कस्तो छ, कसले कसरी लेखिरहेकोछ, नेपालबाट लेखिएका र यहाँ लेखिएका साहित्यको बीचमा के फरक छ, डायस्पोराका कुराहरु साहित्यमा कसरी आँउदैछ भन्ने जस्ता कुराहरुको पनि चर्चा गरिए । त्यहाँ भेट भएकामध्ये देश सुब्बा जो अहिले नेपाल(देश) इतरको भूगोलबाट अर्को केन्द्र निर्माण गर्दै भयवादको ब्याख्या गरिहनुभएकोछ । म उहाँलाई साधारण तर एक सिर्जनशील र जुझारु ब्यक्तिका रुपमा लिन्छु । मैले भेटेदेखि जसलाई ‘भयवाद’ बाँचिरहेको पाउँछु । हरपटकको कुराकानीमा उहाँ साहित्य बोल्नु हुन्छ, साहित्यको चिरफार गर्नुहुन्छ र साहित्य लेख्न प्रेरित गर्नुहुन्छ । अहिलेसम्म हरेक सिद्धान्त र वादहरु बिवादरहित रहेनन् भयवाद पनि त्यसको अपवाद हैन । तर्क विज्ञान र जिकिरहरु आफ्ना ठाँउमा सही होलान् । तर्कहरुले भयवादलाई कमजोर पार्न र यसका मानकहरुलाई अस्वीकार गर्न पनि सकिएला तर यसले उठाएको प्राविधिक पक्ष र यसले स्थापना गरेको जगतदृष्टि अब नेपाली साहित्यमा दर्ज भइसक्यो । हङकङेली नेपाली साहित्यमा त देश सुब्बा र भयवाद ऐतिहासिक स्तम्भ नै भइसक्यो ।
त्यहाँ उपस्थित थिए अर्का पुराना कवि चन्द्र सम्बाहाम्फे । उहाँ कविता लेखिरहनुहुन्छ तर प्रकाशनमा मतलब राख्नुहुन्न । मान सम्मान र चतुर्‍याइँदेखि सधै टाढा रहने तर साहित्य लेखिरहने दाइ चन्द्र सम्बाहाम्फेलाई भेट्दा ज्यादै खुशी लाग्यो । गत वर्ष मकाउमा उहाँलगायत कवि शरण सुब्बाले हामीलाई दिनुभएको सम्मान र उहाँहरुले आयोजना गरेको कविगोष्ठी ऐतिहासिक थियो । त्यसको सम्झना पनि भयो । मकाउ छोडेर दुबै कविहरु अहिले हङकङ आउनु भएको रहेछ । हङकङ सानो भएर पनि विकासको सञ्जाल र यहाँको जीवनको यान्त्रिकताले चाहेर पनि एकआपसमा हतपत्त भेट हुँदैन । सधैको हतारो यस्तै हो यहाँ । तर कतै भेट भएर पनि एक आपसमा बेखबर रहेछौं गीतकार विमल राई र म । उहाँको केही गीतहरु र गहकिला एक दुई लेखहरु भने पढ्दै आएको हो । उहाँ त अन्य कविहरुको कविता र अन्य सृजनाहरुको राम्रो समीक्षा पनि गर्नु हुँदोरहेछ । मिलनसार, कम बोल्ने तर नेपथ्यबाटै साहित्यलाई टेवा दिने बिमलजी जस्ता श्रष्टाहरुको महत्वलाई कमैले ध्यान दिएका होलान् भन्छु । अर्का कवि एवं गीतकार डी. बी. पालुङ्गाको काब्यचेतका बारेमा त छुट्टै च्याप्टरमा पनि कुरा गर्नुपर्छ । गत वर्ष बाहिर ल्याउनु भएको उहाँको गीति एलबम “आलाप”को त मैले चर्चा गरिसकेकोछु । उहाँका कविताहरु भने त्यति पढेको थिइँन । तर केही समययता उहाँका एकाएक राम्रा कविताहरु आएकाछन् । कता कता उहाँका कविताहरुलाई मेरो कवित्व शक्तिले खुट्याउन पनि गाह्रो परिरहेकोछ । यसपटक उहाँले लिएर आउनुभएको कविता थियो “सम्पन्नतासँग गाँसिएको नग्नता र एउटा नेपाली मोडल” । यस कवितामा कवि पालुङ्गाले स्वअस्तित्वको लाचार रुपलाई प्रस्फुटन गरेका छन् । आफ्नो वर्तमानप्रति अन्तरआत्माले गरेको कैरानलाई मनकै भाषामा आत्मिक पीडास्वरुप ओकलिएका छन् कवितामा शब्दहरु । खासगरी राज्य पलायन र जीवनस्तरको तिक्तता, यथास्थिति र परिचयको हीनताबोधहरु कवितामा छन् । आफ्नो जमीन छोडेर अर्को कुन जमीनको खोजीमा छौं हामी ? सम्पन्नताको खोजीमा आज हामी कहाँ कहाँ भौतारिदै छौं ? हाम्रो भविष्य के हो ? हामीले कुन स्तरको जीवन बाँच्ने ? जस्ता जटिल प्रश्नहरु कवितामा छन् । समग्रमा यो कविता स्वजातीय अस्तित्वको खोजी हो । नश्लीयबोध र चेतनाको पृथक स्वरुपमा यो कविता आएकोछ ।
…………….उज्यालो नखस्तै ती प्रभातमासन्ध्या पछिको अन्धकारले
यस धर्तीलाई ढाक्नु पूर्वदौड सकी नसकी तिमीले
चाहेको जमीनको क्षेत्रफल घेर्नतिम्रो यकिनभन्दा
फरकतिमीलाई नै यकिन नभएको तिम्रो गन्तब्य
त्यसैले अब बेसुरमा दौड
भूमि पलायन हाम्रो समुदायको एक नियति बन्दै आएकोछ । इतिहासदेखि आजसम्म राज्य हाँक्ने कथित उपल्ला बर्गले यसबाट अप्रत्यक्ष फाइदाहरु उठाइल्याएकोछ । हाम्रो गिदी भुटिएकोछ । मानौं हामी कमिलाका त्यो बथान हौं, जसले चाँदीको कचौरामा राखिएको गुलियो भेट्ने आशामा लम्बेतान यात्रा भर्नुछ । हामी खै, कुन गुलियोको पछि लागेकै छौं । पालुङ्गाको कविताको मार्मिक पक्ष यो हो ।
त्यसैगरी नेपालमा धमाका मच्चाउँदै गरेका रङ्गवादी कवि चन्द्रवीर तुम्बापोको अर्को शक्तिशाली कविता “एक हरफ बिर्सिएको कथा”को चर्चा गरियो । चन्द्रवीर अहिले नेपालमा चम्किरहेका कविमध्येका एक हुन् । उनको उल्लेखित कवितामा पनि पलायनको कुरालाई मार्मिक ढंगले उठान गरिएकोछ । उनका कविताहरु स्वादिला र बौद्धिक छन् काब्य शिल्प निख्खर छ । आफ्नै स्थानिक बिम्बहरुको प्रयोग गर्दै कविले भूमि प्रेमको गाथा पोखेकाछन् ।
यही पखेरा यही खर्क
यही चौंरीगोठ भएर
शहरतिर छिरिरहेको छ गाउँ ।……………..……………..हो !
उदासीमा लहरै उभिएका छन्गाउँले आस्थाका हिमालहरु ।
खासगरिकन गेसोले जितेको पछिल्लो मुद्धापछि हाम्रा भुपू ब्रिटिस सैनिक परिवारहरु बेलायत जाने तयारी भइरहेको सन्दर्भमा यी कविताहरु आएकोले यी दुई कविताको समय सान्दर्भिकता अर्थपूर्ण देखिन्छ ।
त्यसैगरी भेलामा अनुपस्थित तर कविताहरु पठाएर नेपथ्यबाटै परिचय दिएकी छिन् कवियत्री दीपा राईले । हङकङमा नारी हस्ताक्षरको कमी भइरहेको अबस्थामा एक कवियत्रीको उपस्थिति सुखद कुरा हो । देश सुब्बामार्फत आइपुगेका उनको केही कवितामध्ये
“नाँङ्गो द्रौपदी”को विशेष चर्चा गरियो । उनले आफ्नो कवितामा नारी स्वतन्त्रताको स्वरलाई उद्घोष गरेकीछिन् । महाभारतका विशेष पात्रहरुलाई विम्बात्मक प्रयोग गरिएको यो कवितामा आधुनिक द्रौपदीले नाङ्गिने (स्वतन्त्र हुने) चाहना राखेकोछ । यो एउटा नारी विद्रोह हो ।
औ गान्धारीहरू
आँखा खोलेर हेर
म कसरी ‘दक्षप्रजापति’को अघि
अपमान बोधले 'सती' जलिरहेकी छु
आँखामा कहिलेसम्म
धृतराष्ट्र बोकेर हिँड्छौ
कहिले सम्म विवेकमा
ठेडी कोचेर बस्छौ ?
बिमल राई र केवल गंगा गुरुङ्गको दुई मीठा गीतहरु अनि शरण छिनामले संगीत दिइसक्नु भएको जयराम क्षितिजको अर्को गीत “काँडाबिच फूल देख्छु ……”को पनि चर्चा भए । गजलको भने कसैले कुरा उठाएनन् अन्यथा मैले गोजीमा बोकेको गजलले उति नै चर्चा पाउँथ्यो होला ।
यसरी साहित्यको चर्चा परिचर्चा र हाँसी मज्जाकमा तीन घण्टा समय बितेको पत्तै भएन । यसो सम्झिएँ, हामीले गर्दै आइएको साहित्यिक कार्यक्रमहरुमा हामी ज्यादा औपचारिक हुने गर्दोरहेछौं । छलफल र समीक्षा भन्दा पनि मान सम्मानको खोजी र भाषणबाजी ज्यादा हुँदो रहेछ । कविता सुन्ने भन्दा सुनाउने होड् चल्दो रहेछ । यसप्रकारको प्रक्रियाले साहित्यको गुणात्मक बढोत्तरी हुन्छ जस्तो लाग्दैन । बरु देश सुब्बा, चन्द्र सम्बाहाम्फे, डी.बी. पालुङ्गा, बिमल राई र प्रेम राईहरुले गरिल्याएको जस्तो नियमित अन्तरविमर्श कार्यक्रमले लेखकको लेखन क्षमता र गुणात्मक सृजनात्मकताको विकास हुने कुरामा बिमति हुँदैन तथापि यो पर्याप्त भने नहोला ।

No comments: