Monday, August 24, 2009

भयवाद अध्ययन केन्द्रको स्थापना



साउन २९ गते धरान महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा धरानको हरियाली पार्कमा “भयवादः वैचारिक चिन्तन, विमोचन तथा परिचर्चा “समारोह सम्पन्न भयो । प्रा. डा. टंक न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि कृष्ण भूषण बल, विशेष अतिथि झर्रोवादी आन्दोलनका चूडामणि रेग्मी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा भयवादः वैचारिक चिन्तकको विमोचन प्रमुख अतिथि र विशेष अतिथिले गरेका थिए । कार्यक्रममा “भयवाद अध्ययन केन्द्र”को उदघाटन प्रा.डा टंक न्यौपानले गर्नु भएको थियो भने यस केन्द्रलाई संचालन गर्ने समितिको अध्यक्ष प्रा. डा. टंक न्यौपानेको घोषणा देश सुब्बाले गर्नु भएको थियो । कार्यक्रमलाई फरकपन दिन तथा भयवादलाई कलामा देखाउन अनाम नाटय समूहका सुभास थापाले चिच्याउँदै, रुदै, हाँस्दै मंचमा प्रवेश गरेका थिए । धेरैबेर सम्म दर्शक, स्रोता अन्यौलमा परेका थिए । प्रमुख अतिथिले झ्याम्टा र विशेष अतिथिले शंख बजाएपछि मात्र उदघोषकले कार्यक्रमको उदघाटन भनेर उदघोष गरेका थिए । बिमोचन गरिने पुस्तकलाई पनि केराको पातमा बेरेर चोयाले बाँधिएको थियो । भयवाद अध्ययन केन्द्रको बोर्डलाई पनि लामा लामा फूलले ढाकेर पछि कैचीले धागो काटेर उदघाटन गरिएको थियो ।
भयवाद बारेमा चिन्तक, विषय प्रतिपादक देश सुब्बाले बोलेका थिए । त्यहाँ पुस्तकका टिप्पणीकार डा. खेम दाहाल, मनु मंजिल, मुनाराज सर्मा, शिव प्रणत रेग्मी, ज्योति जंगल, कृष्ण बराल, प्र्रतिटिप्पणीकार सरण राई, रमेश घिमिरे, चन्द्रमणि अधिकारी, मिश्र वैजन्ती, राम्जी तिमिल्सिना, र प्र्रतिवेदकहरुमा दीपक न्यौपाने र गोपीकृष्ण खतिवडा थिए । अतिथिहरुलाई स्वागत डा. भोलानाथ पोखरेलले गरेका थिए भने उदघोषण विजयपुर एफ.एमका रितु थेबेले गरेका थिए । अन्त्यमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । अन्तरक्रिया सत्रमा लिखित रुपमा महेन्द्र क्याम्पस धरानका प्रा.डा. भोलानाथ पोखरेल, महेन्द्र बहुमखी क्याम्पसका अंगे्रजी विभाग प्रमुख डा.केदार प्रसाद पौडेल, प्राध्यापक गोपीकृष्ण खतिवडा, समालोचक दधिराज सुवेदी, कोशी एफ.एम. इटहरीका एकु घिमिरे, समालोचक रमेश इजम, जीवन राई लगायत थुप्रै समालोचक, साहित्यकार, पत्रकारले सोधेका प्रश्नहरुको जवाफ देश सुब्बाले दिएका थिए । यस कार्यक्रममा विराटनगर, दमक, चन्द्रगढी, बिर्तामोड, बेलबारी, सुन्दरपर, उर्लाबारी, इटहरी, धरानका प्राध्यापक, समालोचक, पत्रकार, साहित्यकारहरुको उपस्थिति थियो ।

No comments: