Monday, September 7, 2009

विमोचन तथा परिचर्चा समारोह

  
  यही २०६६ साल साउन २९ गते धरानस्थित हरियाली पार्कमा देश सुब्बा प्रणित भयवाद माथि विचारहरूको सँगालो भयवादः एक वैचारिक चिन्तनको विमोचन तथा परिचर्चा समारोहको आयोजना महेन्द्र बहुमुखी क्याम्पस धरान, नेपाली विभागले गर्‍यो। कार्यक्रमको संयोजन गरेको थियो, विजयपुर एफ.एम.ले।
सुरुमा कार्यक्रमको परिचय डा. टङ्क न्यौपानेले गर्नुभएको थियो। विजयपुर एफ.एम.का कार्यक्रम सञ्चालक ऋतु थेबेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको सभापतित्व डा. टङ्क न्यौपानेले गर्नुभएको थियो। प्रमुख अतिथि हुनुहुन्थ्यो वरिष्ठ कवि कृष्णभूषण बल र विशेष अतिथिमा चूडामणि रेग्मी हुनुहुन्थ्यो। विजयपुर एफ.एम.का तर्फबाट दोर्पध्वज राई पनि मञ्चमा हुनुहुन्थ्यो।
कार्यक्रमको उद्‌घाटन अनौठो र नयाँ तरिकाले गरिएको थियो। सबैमा भय उत्पन्न गर्ने हेतुले कार्यक्रम सुरु हुनै लाग्दा एकजना व्यक्ति 'केको चर्चा ? केको परिचर्चा ? काम छैन ? घर जानुहोस् तपाईँहरू।' भन्दै कार्यक्रमस्थलमा प्रवेश गरे। त्यसपछि तिनी मज्जाले हाँसे अनि विस्तारै रोए। अनि मञ्चमा बसेका व्यक्तित्वहरूले झ्याम्टा र शङ्खध्वनिसहित कार्यक्रमको उद्‌घाटन गर्नुभयो। पछि थाहा लाग्यो ती व्यक्ति अनाम नाट्य समूहका नाट्यकर्मी सुभाष थापा रहेछन्।
उक्त पुस्तकको विमोचन सभापति, प्रमुख अतिथि र विशेष अतिथिले गर्नुभएको थियो। यहाँ पनि नयाँपन के देखियो भने, पुस्तकहरू विमोचन अघि केराको पातले बेरेर चोयाले बाँधिएका थिए।
भयवादःएक वैचारिक चिन्तन गतवर्ष धरानमै गरिएको कार्यक्रममा डा. गोविन्दराज भट्टराई, मनु मन्जिल, कृष्ण बराल, डा. खेम दाहाल, शिव रेग्मी प्रणत, ज्योति जङ्गल, डा. टङ्क न्यौपाने, अर्जुनबाबु माबुहाङ् र मुनाराज शेर्माले गर्नुभएका टिप्पणी/विचारहरूको सङ्ग्रह हो।
यस पुस्तकमाथि विचार व्यक्त गर्ने महानुभावहरूलाई प्रतिटिप्पणीकार भनिएको थियो र उहाँहरू हुनुहुन्थ्योः राम्जी तिमल्सिना, चन्द्रमणि अधिकारी, मिश्र वैजयन्ती, रमेश घिमिरे र शरण राई।
स्वागत मन्तव्य डा. भोलानाथ पोखरेलले गर्नुभएको थियो र भयवादका प्रणेता देश सुब्बाले करिब एक घण्टा लामो व्याख्यान दिनुभएको थियो।
अन्त्यमा विभिन्न महानुभावहरूले भयवादमाथि प्रश्न राखेपछि र ती प्रश्नका उत्तरहरू देश सुब्बाले दिएपछि कार्यक्रम समापन भएको थियो।



1 comment:

Luxmi Meenu said...

fearism bhayawad bimochanko nimti bhai desh subbslai Aantarik hridayebat BADHAI sathai Aaundo dinharuko lagi suvechchha rakhe. ..... feri pani SUVKAMANAsahit......dd meenu