Wednesday, December 9, 2009

मानवीय जीवनमा भयको विश्व रूप छ ।






                                                                           देश सुब्बा
१. भयवाद के हो ?

भयवाद अरू दर्शनहरू जस्तै एउटा दर्शन हो । मानवीय जीवनमा भयको विश्व रुप छ । भयको विश्व रुप भन्नाले मान्छेका स्वभाव, मान्छेका गुण र प्रत्येक वस्तुसित मान्छेलाई भय हुन्छ । आन्तरिक रुपमा आफ्नै कारणले पनि हुन्छ, बाहृय वस्तुहरू सँगको कारणले पनि । एउटा वस्तुले सबैलाई समान भयभीत बनाउँदैन । उदाहरणको लागि शंका एउटा स्वभाव हो, लोभ एउटा स्वभाव हो । यसभित्र भय हुन्छ । भूत एउटा वस्तु हो, भूत देखेर, सुनेर सबै मान्छेलाई समान भय हुँदैन । भय मान्छेको चेतना, ज्ञान, सहनशीलता, ग्रहणीय क्षमता र स-संकेतिक् प्रवृत्तिमा भर पर्दछ । स-संकेतिक प्रवृत्ति भन्नाले रसियन वैज्ञानिक पेत्रोभिच् पावलोफ्ले आविष्कार गरेको प्रवृत्ति हो । यी सबै भयहरूबाट निस्किने प्रयास, माध्यम, प्रकटहरू भयवाद हुन् ।

२. भयवादको विकास कसरी गर्नुभयो ?

आज भन्दा दश वर्षअगाडि मसित एउटा उपन्यासको पाण्डुलिपि थियो । त्यो उपन्यास अझै प्रकाशित भएको छैन । त्यो उपन्यास मैले सुझाव संकलन गर्न साथीहरूलाई पढ्न दिएको थिएँ । दिइएका साथीहरू मध्ये एक जना साथी शरण सुब्बाले पाण्डुलिपिमा रातो मसीले अन्डर लाइन गरेर दिनु भएको थियो । रातो रेखा तानिएका धेरै शब्द मध्ये एउटा भयवाद भन्ने शब्द रहेछ । मैले यसलाई गम्भीरतापूर्वक मनन् गरेँ । किनभने यो वजनदार थियो, अनि त्यही शब्दमा विचार गर्न थालेँ, साथीहरूसँग कुरा राख्न थालेँ । यसमा छलफल भयो, बहस भयो, अन्तर क्रिया भयो, लेखहरू आउन थाले, किताब लेखेँ । अनि धरानमा भयवादमाथि राष्ट्रिय बहस पनि भयो । यसरी भयवादको विकास भएको हो ।

३. भयवाद विशुद्ध साहित्यिक वाद हो ? या जीवन र जगत् अन्य मान्यताहरूसँग पनि यस सम्बन्ध राख्दछ ?

भयवाद साहित्यमा मात्र केन्द्रित नभएर सिङ्गो जीवन र जगतसँग सम्बन्ध राख्दछ । साहित्य जीवनको सम्पूर्ण्ता होइन, एउटा अंश हो । मैले माथि नै भने भय मानवीय जीवनको विश्व रुप हो । यसको प्रभाव सबैतिर छ । मलाई त के लाग्दछ भने सबै मानवीय स्वभावले भयको परिक्रमा गर्दछ । कला, संगीत, साहित्य, विज्ञान सबैतिर यसको उपस्थिति छ ।

४. कस्तो साहित्यलाई भयवादी साहित्य भन्नु पर्ला ?

भय सकारात्मक सुन्दर चेतना हो । त्यसो त भय जुनसुकै साहित्यमा कुनै न कुनै रुपमा हुन्छ । कुनै आंशिक होला, कुनै बढी । सिद्धान्तको परिधिमा व्याख्या गर्नुपर्दा यो यस्तै चित्रको हुन्छ भनेर भन्न सकिन्दैन, तर जुन साहित्यमा जीवन, चेतना, ज्ञान, भय र भयवाद छ यसैलाई भयवादिय साहित्य भन्नु पर्दछ ।

५. भयको उत्पत्ति कसरी हुन्छ ?  भयले जीवनमा कस्तो प्रभाव पर्दछ ?

भयको उत्पत्ति चेतना, ज्ञान, प्रवृत्तिले आन्तरिक र बाहृय वस्तुसित मुटभेट गर्दा हुन्छ । चेतना सबै मान्छेमा हुन्छ, तर मान्छे सधैँ भयभीत भइरहन्दैन । उसलाई कुनै पनि वस्तुको बारेमा ज्ञान हुनुपर्दछ । जीवन एउटा ज्ञान हो, मृत्यु अर्को ज्ञान हो, रोग एउटा ज्ञान हो । आणविक हतियार एउटा ज्ञान हो । मान्छेलाई आणविक हतियारको शक्तिको ज्ञान भएन भने भय हुँदैन । उदाहरणको लागि सर्प विषालु हुन्छ भन्ने प्रवृत्तिगत अर्थ हामीले सुन्दै नआएको भए सर्प सुनेर, देखेर, भयभीत हुनुपर्ने कारण नै थिएन । हामीले सर्प विषालु, हुन्छ यसले ठुङ्गेपछि मरिन्छ भन्ने अर्थ बुझदै आएका छौँ । यही अर्थ बोकेर हाम्रो ज्ञानतन्तु, इन्द्रिय माँसपेशी मस्तिष्कमा पुग्दछन् र हामीलाई भय हुन्छ ।

भयले जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको हुन्छ । सभ्यताको विकास, विज्ञानको नयाँ आविष्कार, नयाँ नयाँ औषधिको आविष्कार, सृजना उन्नति र प्रगतिको कारक तत्व भय नै हो । त्यस्तै लोभ, शंका, हत्या, आतङ्क, षडयन्त्र, युद्ध सबै भयको कारक तत्व हो ।

६. प्रेममा भयको के अर्थ रहन्छ ?

प्रेममा भयको सबैभन्दा महत्वपूण् अर्थ रहन्छ । प्रेम हुनुको पहिलो कारण भय हो । एक्लो मान्छेको जीवन अपूरो हुन्छ, जीवन पूरा गर्नको लागि कसैसित प्रेम गर्ने गर्दछ । उसको यो प्रेमसँग भविष्य जोडिन्छ, सन्तान जोडिन्छ, घर व्यवहार जोडिन्छ र संसार जोडिन्छ । प्रेम प्रेमको लागि मात्र हुँदैन, प्रेम त संसारको लागि हुन्छ । कतै एक्लै भइन्छ, दुःख पाइन्छ, मरिन्छ भन्ने भयहरूबाट सुरक्षित रहन मान्छे प्रेम गर्छ ।

७. के भयवाद संसारको बिल्कुलै नौलो वाद हो ?

एकातिर विद्वानहरू संसारमा केही पनि नौलो छैन भन्छन् । जे कुरा हामी नौलो भनिरहेका हुन्छौ, त्यो त्यही हुन्छ-छेलिएको, नदेखिएको, लुकेको छोपिएको । हामीले नौलो भनेको कुरा त त्यही छेलिएको, नदेखिएको, लुकेको, छोपिएकोलाई ढुङ्गा पल्टाएर निकालेको जस्तो, चट्टान पल्टाएर निकालेको जस्तो, पानीमा डुबेर खोजेको जस्तो मात्र भन्छन् । त्यो वस्तुका रूप परिवर्तन हुन्छ, रंग परिवर्तन हुन्छ, तर वस्तु त्यही हुन्छ । यसरी मानिदिने हो भने यो नौलो कुरा होइन । किनभने भयको बारेमा आदिमकोदेखि मान्छेले अनुभूति गर्दै आए, बोल्दै आए, त्यही अनुसार व्यवहार गर्दै आए । यसमा पनि ढुङ्गा पल्टाएर हेर्ने हो भने अलि छुट्टै देखिन्छ । आदिमकालदेखि आनुवाँशिता टाँसिन्दै आएजस्तै भय मान्छेसित टाँसिन्दै आयो, तर त्यतिखेर अनुभूतिको रूपमा आयो । त्यतिखेर भय प्रमुख विषय थिएन । जीवनमा भय प्रमुख विषय हो भन्ने तर्क लिएर आउने सवालमा भने 'भयवाद' बिल्कुलै नौलो वाद हो ।

८. तपाई एउटा उपन्यासकार पनि हुनुहुन्छ ? के तपाईका उपन्यासहरू भयवादी छन् ?

मैले भयवादको सोच ल्याउनु भन्दा धेरै अगाडि देखि लेख्नु थालेको हुँ । कतिपय फुटकर साहित्य लेखिएका छन्, कतिपय उपन्यास । भयवादको दर्शनबाट हेर्दा त सबै उपन्यासहरू भयवादी देखिन्छ । तर भयवादको सोच आइसकेपछि लेखिएको उपन्यास चाहिँ 'आदिवासी' मात्र हो । त्यसैले आदिवासीलाई चाहिँ भयवादी उपन्यासको प्रयोग मान्न सकिन्छ । बाँकी उपन्यासहरू भयवाद सिद्धान्तको प्रतिपादन अघि र पछि दुइ भाग गरेर हेर्न सकिन्छ ।

९.तपाईको बारेमा केही बताइदिनुहोसन -जन्म, बाल्यकाल, शिक्षा......साहित्यमा पाइला टेक्दै गरेको अवस्था....पहिलो कृति कहिले प्रकाशित गर्नुभयो । त्यो बेलाको कठिनाइहरू....जीवनप्रतिको तपाईको धारणा....प्रेम र विवाह ...हङकङ र कसरी जानुभयो ...नेपाल छोड्नु पर्दा सुखी दुःखी के हुनुहुन्छ - एउटा साहित्यकार बन्नको लागि तपाईको पारिवारिक सहयोग कस्तो थियो - ...लक्ष्य...जन्म र मृत्युबारे तपाईको परिभाषा...अनि तपाईको प्रेरणा ) आदि खुलाएर ।





मेरो पुरानो गाउँ ताप्लेजुङ्ग जिल्लाको फाखुम्बा गा.वि.स. हो । तर मेरो जन्म २०२१ सालमा धरानमा भएको हो । मैले धरानमै एस.एल.सी.सम्म अध्ययन गरेको हुँ । मैले काठमाण्डौँमा आएर वाणिज्य शास्त्रमा स्नातोत्तर सम्मको अध्ययन गरेँ । मैले लेख्न थालेको वि.स. २०४० तिरदेखि हो । त्यसबेला केही साथीहरू मिलेर धरानमा हाँस्यब्यङ्ग्य टुटुल्को निकाल्थे । म पनि सानोतिनो रचना दिन्थेँ । त्यसपछि पत्रपत्रिमा लेख्न थालेँ । मेरो पहिलो कृति "दोषी कर्म" वि.सं. २०५० सालमा प्रकाशित भयो । त्यसबेला प्रेसहरू प्रशस्त थिएनन् । साहित्यिक गतिविधि पनि अहिलेको जस्तो थिएन । साहित्यकारहरूसित खासै चिनजान थिएन । काम गर्न असजिलो वातावरण थियो । अहिले साहित्यकारहरूसित सम्पर्क बढेको छ । तर प्रकाशन, वितरण हिजो पनि नेपाली साहित्यिक बजारमा गाह्रो थियो । आज पनि छ ।
मैले जीवनमा आममान्छेजस्तै दुःख र सुख भोगेको छु । सुख भन्दापनि दुःख नै बढी छ । किनभने म साह्रै विपन्न वर्गको मान्छे हो । आज म हङकङमा बसेर काम गरिरहेको छु । तथापि दुःख हटेको छैन । तर जीवन सकारात्मक र आशावादी हुनुपर्दछ । यो कुरा भयवादले पनि बताउँछ ।

विवाह एउटा संसार हो । प्रेम अर्को संसार हो । मेरो बुझाइमा यी दुइटै अनुभूतिहरू फरक छन् । सबै प्रेमहरूमा विवाह हुन्छ भन्ने हुँदैन र सबै विवाहमा प्रेम । तर मान्छेले प्रेम र विवाहको अनुभव लिन सक्नुपर्छ । किनभने यी जीवन भोगाइका आनन्दित पक्षहरू हुन्, सम्झनाहरू हुन्, जसले हामीलाई जीवनका गोरेटोहरूमा उर्जा दिइरहन्छ । यसैको प्रेरणाले हामी उर्जित हुन्छौँ । यो सकारात्मक भयो भने उन्नति र प्रतिष्ठा बन्छ । नकारात्मक भयो भने विध्वंस र असफलता बन्छ ।
हङकङ हिजो अंग्रेजहरूको उपनिवेश थियो । अंग्रेजीहरूको सेनामा व्रिटिश गोर्खा भनेर नेपालीहरू सेवा गर्दथे । व्रिटिश गोर्खाहरूलाई व्रिटिश सरकारले आफ्नो उपनिवेश भएका मुलुकमा लागेर राख्दथ्यो । व्रिटिश गोर्खा त्यसै गरी हङकङमा पनि बसेका थिए । हङकङको कानुनमा "हङकङमा जन्मेको मान्छेले बसोबासको अधिकार पाउने" भनेर पारित भएपछि यहाँ जन्मेका नागरिकहरूलाई बसोबासको अधिकार भयो । आफ्नो परिवार राख्न पाउने भयो । त्यसै सिलसिलामा म पनि त्यही अधिकारको प्रयोग गर्दै यहाँ आएको हुँ ।
नेपाल छोड्नु पर्दा ज्यादै दुःख लागेको छ । पलायन भन्ने कुरा नै आफैमा नकारात्मक कुरा हो । अर्काको ठाउँमा गएर बस्दा धेरै गाह्रो हुन्छ, भाषा मिल्दैन, रहनसहन मिल्दैन, खानेकुरा मिल्दैन, व्यवहार मिल्दैन । चार्डपर्व, छुट्टि सबै त्यहीको मान्नुपर्दछ । त्यो सँगै हामी बिलाएर सानो अंशमा परिणत भएका हुन्छौँ । अस्तित्व छैनभन्दा छ, छ भन्दा छैन हुन्छ । फेरि मान्छेसित सम्पत्ति भनेको सम्झना पनि रहेछ । हामीले बिताएको बाल्यकाल जस्तो स्वर्ग फेरि जीवनमा कहिले नआउने रहेछ । संसारको जुनसुकै कुनामा जाउँ, हामीसित जतिसुकै भौतिक सम्पत्ति होस, तर बाल्यकाल, गाउँघरको सम्झना, घाँसदौरा, खोलानाला, हाटबजार, साथीभाइ, इष्टमित्र, चार्डपर्व जतिको मूल्यवान केही नहुँदोरहेछ । साहित्यमा नोस्टाल्जिया शब्दको ठूलो महत्व छ । मैले हङकङ बसेर गरिरहेको साहित्यमा यहाँको बाटोघाटो, खोलानाला, जनजीवनको वास्ना आउन सकेन । मेरो मात्र होइन, धेरै वर्षेखि डायास्पोरा जीवन बाँचिरहेका भारतीय, श्रीलंकनहरूको पनि साहित्यमा आफ्नै माटोको, जातिको सुगन्ध आउँछ । ती सम्झनाहरू संगालेर आफूलाई खरानी बनाउनुपर्ने भएकोले ज्यादै दुःख लाग्छ । भयवादको लागि हङकङ शुरुवात हो, नेपाल विस्तार । तर सोचेको जस्तो विकास गर्न सकेको छुइनँ । त्यसले पनि म दुःखिरहेको छु । मेरो पारिवारिक पृष्ठभूमि साहित्य र शिक्षाबाट आएको होइन । मेरो पृष्ठ भूमि अति नै धमिरो छ । यसै हो भनेर भन्ने स्पष्ट छैन । नेपाली उखान छ नि "हुने हार दैव नटार" त्यस्तै कागतेली मात्र परेको हो । तर अहिलेको मेरो पारिवारिक वातावरण निकै सहयोगी छ ।

मेरो अहिलेको लक्ष्य भनेको भयवादको विकास गर्नु हो । भयवादलाई सके अन्तराष्ट्रिय क्षितिजसम्म पुर्‍याउनु हो नसके नेपाली आकाशसम्म । म यसैको सैद्धान्तिक पक्ष मात्र विकास गर्ने पक्षमा छुइनँ । यसको व्यवहारिक पक्ष पनि विकास गर्ने मेरो लक्ष्य हो । जब सम्म व्यवहारिक हुदैन सिद्धान्त, त्यसको उपयोगिता हुँदैन ।

जन्म र मृत्यु भनेको भयवादिय दृष्टिकोणमा 'प्रकट' हुन् । धेरै खण्डहरूको बीचमा एउटा एउटा खण्ड । तर अन्तिम खण्ड । कसैले जन्मिन्छु भनेर जन्मिन सक्दैन, बाँच्छु भनेर बाँच्न सक्दैन । यो विच्छिन्नता हो, संसारसित, जीवनसित, सबैसित । धेरै खण्ड मध्ये जुन जीवनको खण्ड छ-त्यसको उपभोग गर्नुपर्दछ । मृत्यु अन्त्य हो । भनौँ जन्म भयको शुरुवाता, मृत्यु अन्त्य । जन्म र मृत्यु बीचमा जहाँ जीवन अडिरहेको हुन्छ, त्यो भाग भय मण्डल हो ।

मेरो प्रेरणाको स्रोत यही भनेर भन्न मलाई मुस्किल पर्छ । मैले ठूला ठूला लेखकको प्रेरणाले लेख्न थालेको होइन, आफ्नै वरिपरिको कुनै मान्छेको प्रेरणाले लेख्न थालेको पनि होइन । मेरो वरिपरिको रहर नै मेरो पहिलो प्रेरणा हो । अनि विद्यालयको गुरुगुरुमाको प्रेरणा त हुन्छ नै । त्यसमा पनि मलाई नेपाली पढाउने गुरुहरू, यादव लामिछाने, विजय चालिसेहरूको केही पे्ररणा छ । हिजोभन्दा आज भयवादमा आएपछि धेरै साहित्यकार, समालोचक, पत्रकार, प्राध्यापकहरूसित प्रेरणा पाइरहेको छु ।

१०. नेपाली समाज अहिले कुन बाटो गइरहेको जस्तो छ । भयवादी उत्तर पाउ ।

नेपाली समाज हिजोको कालखण्डबाट नयाँ प्रकटमा छ यतिखेर । संभावनाहरू प्रशस्त विकास भैरहेको छ । भोग, इष्र्या, लोभ, अहंम, रोगको विभिषिकाले ब्यूझाएर अगाडि बढाइएको छ । प्रशस्त बैँकहरू खुलेका छन्, विद्यालयहरू खुलेका छन् । राजनैतिक रूपमा पनि ठूलो परिवर्तन हुँदैछ । म लामो समय हङकङमा बसेर नेपाल आएँ । नेपालको प्रगति देखेर छक्क परेँ । किनभने मैले नेपाल छोड्दा केही सीमित बैंकहरू थिए । अहिले बैंक, वित्तिय र प्राविधिक शिक्षालयको बाढी नै आएको छ । सञ्चारको द्रुत गतिमा विकास भएको छ । यिनीहरू भनेको विकासको मापदण्ड र पूर्वाधार दुवै हो । म हङकङ आएपछि केही रेलमार्ग, केही सुरुङ माग, एउटा अन्तराष्ट्रिय बिमानस्थल र विमालस्थल जोडन् बाटाहरू, पुलहरू बनेका छन् । हामीलाई लाग्छ, कति छिटो विकास गरिरहेको भनेर । पहिला यहाँ प्रशस्त रोजगारीको संभावना थियो, ठूला ठूला जब मार्केटका पत्रिका निस्किन्थे, फर्म भरेर दिनासाथ तुरुन्तै त्यसको जवाफ आउँथ्यो, रोजगारी खोजिदिने संस्थाहरू प्रशस्तै थिए, सबैलाई सबैतिर काममा राखिन्थ्यो । अहिले त्यस्तो छैन । भएका वित्तिय संस्था, बैंकहरू धमाधम बन्द हुँदैछन् । यसैबाट नेपाल, नेपाली समाज कता जाँदैछ बुझन सकिन्छ ।

११. तपाईलाई मन पर्ने साहित्यकारहरू को को हुन् ?

मलाई मनपर्ने साहित्यकार धेरै छन्, उनीहरूका आ-आफ्नै विशेषता छन् । तर नामै किटेर भन्न सक्दिनँ । किनभने नामै काटेर भन्दा कसैलाई न्याय कसैलाई अन्याय हुन्छ । फेरि ठूलाठूला विदेशी साहित्यकारको नाम लिएर साहित्यिक आडम्बर पनि गर्न चाहान्नँ । सबैको साहित्य मूल्यावान छन् चाहे विदेशी होस वा स्वदेशी । उनीहरूलाई केही प्रचारप्रसारले ठूलो बनाएको छ केही उनीहरूको रचनाले । नेपाली साहित्यकारहरूलाई जे बनाएको छ उनीहरूको सृजनाले बनाएको छ ।

१२. तपाईले भयवाद प्रतिपादन गर्नुभन्दा अगाडि पनि भयवादी साहित्य लेखिएका थिए ?

मार्क्सवादी सिद्धान्त, उत्तर आधुनिक सिद्धान्त, अस्तित्ववादी सिद्धान्त आउनु भन्दा अगाडि ती सिद्धान्तमा मिल्ने साहित्य नै लेखिएको थिएन भन्ने मलाई लाग्दैन । प्रशस्त लेखिएका थिए, तर त्यस साहित्यलाई हेर्ने दृष्टिकोणको मात्र अभाव थियो । जब सिद्धान्तहरू आए अनि ती पुराना र नयाँ लेखोटलाई त्यो सिद्धान्तले पनि हेर्न थालियो, समालोचना गर्न थालियो । त्यस्तै भयवाद सिद्धान्त आउन अगाडि यस प्रकृतिका साहित्य लेखिएका थिएन भन्ने मलाई लाग्दैन । तर समालोचनामा भयवाद नआएकोले यसलाई यो दृष्टिकोणबाट हेरिएको थिएन । दृष्टिकोण नै नभएपछि हेर्ने कुरापनि भएन । यति मात्र फरक हो ।

१३. भयवाद बारेमा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

प्रतिक्रिया मिश्रति छन् । कसैले नितान्त नौलो कुरा मानिरहनु भएको छ, कसैले मानिरहनु भएको छैन । यस्तो प्रतिक्रिया भयवादलाई मात्र होइन सबैलाई आउँछ । यो विचारलाई मान्नु हुने महानुभावहरूले एकदमै भावनात्मक सहयोग गरिरहनु भएको छ । उहाँहरूसित मिलेर भयवाद अध्ययन केन्द्र पनि स्थापना गरेका छौँ । किनभने भयवाद निकै ठूलो कुरा हो, मैले जति व्याख्या गरिरहेको छु, त्यो भन्दा धेरै गहन कुरा दिनदिनै आइरहेका छन् । यसैलाई अध्ययन गर्दै जाने र ती अध्ययन गरिएका विषयलाई अध्ययन गर्दै जीवन उपयोगी विभिन्न विधाहरूमा प्रयोग गर्दै लान यो केन्द्रको स्थापना भएको हो ।

१४.अन्त्यमा के भन्न चाहानु हुन्छ ?

भयवाद एउटा जीवनवादी दर्शन हो । यसले धेरै मान्छेलाई मद्दत गर्दछ । अहंम, घृणा, इष्र्या, आतङ्क, षडयन्त्र, शंका, हिनता बोध, अन्तरमुखी, डिप्रेसन भयको कारणबाट हुन्छ भन्दछ । यी मान्छेका समस्या हुन् । मान्छेलाई आफ्नो समस्या थाहा भए ऊ सहज मार्गबाट निस्किने प्रयास गर्दछ । त्यसैले भयवादबारे जानकारी राख्नु, दर्शन र विज्ञानको लागि उपयोगी हुन्छ ।

अन्तरवार्ताकार सागर नेपाल







No comments: