Friday, May 14, 2010

एक थिए पिकासो

काठमाडौ, वैशाख ३१ -
नवीन्द्रमान राजभण्डारी
केही दिनअघि न्युयोर्कको लिलामी संस्था क्रिस्टिजले स्पेनिस कलाकार पाब्लो पिकासोको 'न्युड, गि्रन लिभ्स एन्ड बस्ट' शीर्षकको चित्र दस करोड पैँसट्ठी लाख अमेरिकी डलरमा बिक्री गरेको खबरले विश्वभरका सञ्चार माध्यमहरूमा प्रमुखता पायो ।

एउटा चित्रको मूल्य त्यति धेरै ! सुन्दा अविश्वसनीय लाग्छ तर अन्तर्राष्ट्रिय कला बजारका लागि यो पहिलो घटना भने होइन । अत्यधिक मूल्यमा बिक्री भएका यस्ता कलाकृतिहरूको फेहरिस्त निकै लामो छ । यसपटक पिकासोको चित्रले अल्बर्टो जियाकोमेट्टीको कृति 'वाकिङ म्यान आई'को कीर्तिमानलाई उछिनेको थियो । यसै वर्षको फेब्रुअरी महिनामा लन्डनमा भएको लिलामीमा जियाकोमेट्टीको कृति दस करोड त्रिचालीस लाख डलरमा बिक्री भएको थियो । त्यसो त सन् २००४ मा पिकासोकै 'गार्कोन अ ला पाइप'ले दस करोड चालीस लाख डलर पाएर विश्व कीर्तिमान राखिसकेको थियो भने सन् २००६ मा 'डोरा मार अ साट' नौ करोड पचास लाख डलरमा बिक्री भएको थियो ।

'न्युड, गि्रन लिभ्स एन्ड बस्ट' अर्थात् 'निर्वसना, हरित पत्ताहरू तथा आवक्ष' पिकासोले सन् १९३२ मा रचेका थिए । यस चित्रको मूलपात्रका रूपमा उनकी प्रेमिका मेरी-टेरेसे वाल्टर रहेकी छन् । चित्रमा लम्पसार परेकी निर्वसना आकृतिलाई पिकासोको आवक्ष मूर्ति -बस्ट) ले हेरिरहेको दृश्य अङ्कित छ । यो चित्र १.५० मिटर अग्लो र १.०२ मिटर लामो छ ।

आधुनिक कलाकारहरूमा पिकासोले जस्तो यश, वैभव र ख्याति सायदै अरू कलाकारले पाए होलान् । उनका बारेमा जति चर्चा भए, पुस्तक लेखिए, फिल्म बने, त्यति सायदै अरू कलाकारका बारेमा भए होलान् । कला समीक्षक जोन्स बेन्जामिनको भनाइमा 'जीवनको गहनता प्रकट गरिदिनेजस्तो विस्मयपूर्ण प्रतिभा पिकासोको हातमा थियो, त्यस्तो अन्य कुनै कलाकारमा थिएन ।' पिकासोले आपmनो जीवनी लेखकलाई भनेका थिए, 'जब म बाह्र वर्षको थिएँ, त्यसबेला नै म राफायलले बनाएका जस्तो चित्र बनाउन सक्थेँ ।' भनिन्छ, आपmना पुत्रको विलक्षण प्रतिभा देखेर उनका बाबु होसे रुइजले चित्र बनाउने कामलाई सदाका लागि तिलाञ्जली दिएका थिए ।

सन् १८८१ अक्टोबर २५ मा स्पेनको मालागामा जन्मेका पिकासोले १९०० मा पहिलोपल्ट पेरिस यात्रा गरे । त्यहाँको कलामय वातावरण देखेर उनी मुग्ध भए । फलस्वरूप सन् १९०४ मा स्थायी रूपले उनी पेरिसमै बसाइँ सरे । सुरुका केही वर्ष उनले पेरिसको मोंमार्त्रमा निकै विपन्नावस्थामा दिन काटे । सङ्घर्षपूर्ण कालमा रचिएका उनका कृतिहरू 'ब्लु पिरियड' र 'पिङ्क पिरियड'का चित्रका रूपमा प्रख्यात छन् ।

'ब्लु पिरियड'का चित्रमा नीलो रङको प्राधान्य रहेको छ र चित्रको विषयमा भिखारी, सडक-गायक, श्रमजीवी एवम् पीडित मानवहरू पर्छन् । मानवतावादी दृष्टिकोणबाट प्रेरित ती चित्रहरू विपन्न वर्गको असहाय र लाचार अवस्थाको मर्मस्पर्शी चित्रणका रूपमा विख्यात छन् । सन् १९०५ मा नीलो रङको ठाउँमा गुलाबी रङ देखा पर्न थाल्यो । सर्कसका विदूषक, नट, भाँड, नर्तक आदि उनका चित्रपात्रका रूपमा देखापर्न थाले । ब्लु पिरियडका चित्रको मूल भाव मानवीय विषादको अभिव्यक्ति थियो भने पिङ्क पिरियडको नैराश्य र समर्पण । ती चित्रशृङ्खलाका बारेमा उनका साहित्यिक मित्रहरू अपोलिनेर र माक्स याकोब ले मुक्तकण्ठले प्रशंसा गर्दै थुप्रै लेख-मालाहरू लेखेका थिए । त्यसपछि पिकासोको प्रसिद्धि र समृद्धिको अविराम यात्रा सुरु भयो ।

सन् १९०५ मा पिकासोको सेजान तथा मातिससँग परिचय भयो । फलतः उनी सेजानको कलाप्रतिको नयाँ दृष्टिकोणसँग परिचित भए र निग्रो कलाबाट प्रभावित भए । सन् १९०७ मा पाब्लो पिकासोले बनाएका प्रख्यात चित्र 'ला डेमोइसे दी आविन्योँ' अर्थात् 'आविन्योँका स्त्रीहरू'लाई क्युविजम -घनवाद)को पहिलो चित्रका रूपमा लिइन्छ । यस चित्रद्वारा पिकासोले आकार सौन्दर्यको परम्परागत एवम् स्थापित धारणालाई क्रमभङ्ग गरिदिएका थिए ।

यस चित्रमा वेश्यालयका पाँचवटी वेश्यालाई चित्रित गरिएको छ । पिकासोले घनवादी शैलीमा मूर्तिहरू पनि रचना गरेका थिए । यी सबै मूर्तिहरू पुराना वस्तुहरूलाई जोडेर बनाइएका थिए । तिनलाई आधुनिक मूर्तिकलाका भावी प्रवृत्तिको सङ्केतका रूपमा लिइन्छ ।

सन् १९०८ ताका पिकासोले सेजानबाट प्रभावित भएर ज्यामितीय नियममा आवद्ध 'एनालिटिकल क्युबिजम'को प्रवर्तन गरेका थिए । सन् १९१२ मा उनले कोलाज पद्धतिको आविस्कार गरे । यसलाई 'सिन्थेटिकल क्युबिजम' भनिन्छ । त्यसपछि नवशास्त्रीयवादी, अतियथार्थवादी आदि शैलीका कृतिहरू सिर्जनको अविच्छिन्न क्रम रह्यो । पिकासोले यति धेरै शैली र वादमा कला रचना गरेका छन् जसले गर्दा उनलाई कुनै वाद वा शैलीविशेषको परिधिमा बाँध्न सकिँदैन । उनकै शब्दमा, 'म शैलीविहीन चित्रकार हुँ ।'

पिकासोले सन् १९३७ मा लेखेको चित्र 'ग्वेर्निका' विश्वविख्यात छ । यस चित्रमा युद्धबाट उत्पन्न आतङ्क र पीडा चित्रण गरिएको छ । स्पेनिस गृहयुद्ध ताका बास्क प्रान्तको सानो सहर ग्वेर्निकालाई जर्मनीबाट आएका नाजी सैनिकहरूले अन्धाधुन्ध बमबारी गरेर ध्वंस पारेको घटनामाथि यो चित्र आधारित छ । यो विशाल चित्र -३.४९ मि. ह ७.७७ मि.) सिर्जना गर्न पिकासोले एक महिना खर्चेका थिए । यस चित्रमा पिकासोले घनवादी आकारलाई एकदमै सरलीकरण गरेका छन् ।

पिकासो जति ऊर्जावान् सर्जक थिए, प्रणय मामिलामा पनि उत्तिकै खप्पिस थिए । अनेकौँ महिलाहरूसँग उनको प्रणय सम्बन्ध रहेको थियो । उनका प्रेमिकाहरूको सूची निकै लामो छ । तीमध्ये रोजिटा डेल ओरो, फर्नान्डे ओलिवर, इवा, इमिलिन पाक्वेरेट, ओल्गा खोख्लाव, मेरी टेरेसे वाल्टर, डोरा मार, प
mाँस्वाँ जिलो, ज्याक्लिन रक आदि पिकासोको जीवनमा आएका महत्त्वपूर्ण महिलाहरू थिए । जीवनको अन्तिम क्षणमा पत्नीका रूपमा ज्याक्लिन रक उनीसँग थिइन् । उनी स्पेनको 'साँढे जुधाइ' खेल हेर्नका सोखिन त थिए नै, साथै आपmना प्रेमिकाहरूबीच चल्ने कुस्ती हेर्न पनि रमाउँथे ।

सन् १९१६ मा ज्याँ कोक्ट्युको आमन्त्रणमा रुसको डियाघिलेफको ब्याले समूहका लागि रङ्गमञ्चको पर्दा लेख्ने सिलसिलामा पिकासो रोम गए । त्यहाँ ब्याले नर्तकी ओल्गा खोख्लोवासँग उनको परिचय भयो र सन् १९१८ मा ओल्गासँग विवाहबन्धनमा बाँधिए । ओल्गाको सौन्दर्यबाट प्रभावित भएर पिकासोले शास्त्रीय शैलीमा 'मदर एन्ड चाइल्ड', 'वुमन इन ह्वाइट', 'थ्री वुमेन एट फाउन्टेन' आदि चित्र लेखे ।

सन् १९२७ मा छयालीसवर्षे पिकासोको भेट सत्रवर्षे मेरी-टेरेसे वाल्टरसँग भयो । यी दुईबीच लामो समयसम्म गोप्य प्रेम सम्बन्ध रह्यो । सन् १९५५ मा पत्नी ओल्गा खोख्लोवाको मृत्युपश्चात् पिकासोले आफूसँग विधिवत् विवाह गर्लान् भन्ने मेरी-टेरेसेको आशा सदा आशा नै रह्यो । १९७३ अपि्रल ८ तारिखका दिन ९२ वर्षको उमेरमा पिकासोको मृत्यु भएको चार वर्षपश्चात् उनले झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

mाँस्वाँ जिलोले सन् १९६४ मा प्रकाशित आपmनो पुस्तक 'लाइफ विथ पिकासो'मा पिकासोलाई अन्तर्राष्ट्रिय ख्यातिका कलाकारका अतिरिक्त अति कामुक, सनकी एवम् स्वार्थी पुरुषका रूपमा वर्णन गरेकी छन् । सन् १९४० मा आफूभन्दा चालीस वर्ष कान्छी जिलोसँग उनको प्रणय प्रकरण सुरु भएको थियो ।

पिकासो एक चित्रकारका अतिरिक्त उच्चकोटिका मूर्तिकार पनि थिए । यसबाहेक उनका इनग्रेविङ, लिथोग्राफी र सेरामिक्सका कृतिहरू पनि त्यत्तिकै उम्दा छन् । सङ्ख्याका हिसाबले पनि उनलाई उछिन्न सक्ने कलाकार अद्यापि कोही निस्केका छैनन् । पिकासोद्वारा सिर्जित कलाकृतिहरूको सङ्ख्या पचास हजार थानभन्दा बढी रहेको अनुमान गरिन्छ जसमा चित्र, मूर्ति, सेरामिक्स, ड्रइङ आदि पर्छन् ।

No comments: