Tuesday, July 6, 2010

सपनाको देश र माछाको अस्थिपिञ्जर

देश सुब्बा

हेमिङ्वेको "बूढो मान्छे र समुद्र" उपन्यासमा एकजना बूढो पात्र छन् । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछाले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । मान्छेको जीवन यस्तै हुन्छ, धेरै धेरै कमाउने सपनाले देशविदेश लाग्छन् । तर अन्तिममा त्यस्तै अस्थिपिञ्जर बाँकी रहन्छ । अहिले हङकङका संघसंस्थाहरूका कार्यक्रमहरू पनि यस्तै छन् । यो यथार्थ आज अलिकति छ भोलि फैलिएर जानेछ । किनभने मानवीय क्रियाकलाप भित्रको एउटा पलायनताको संकेत । यस्तै बेमौसममा पनि चर्चाको सगरमाथा छन् "स्रील मिस्ट" का डायास्पोरिक लेखक रामकृष्ण वान्तावा चर्चाको ओलिम्पिक र्टच बोकेर यतिखेर ।


फैलिने क्रममा मान्छे थाहा नपाइ खुम्चिदो रहेछ । विज्ञान भन्छ, "कुनै पनि वस्तु तातिएपछि फैलिन्छ ।" मैले भयचक्रको व्याख्यामा भनेको छु,-भौतिक पलायन र मानसिक पलायन । आदिमताको चीसोबाट फैलिन्दै आए मान्छे-जाति, समाज, देश र फर्किन्दै गए, देश, समाज, जाति अनि खुम्चिएर आए मभित्र । देश र काल यही भन्छ । देश र काल चलाएर हेर्दा चल्दोरहेछ मास्लोको आवश्यकता क्रम, चल्दोरहेछ, भय क्रम र चल्दोरहेछ, जीवन क्रम । त्यसैले भन्थे कान्ट- "संवेदन शक्तिले सबै संवेदनहरूलाई देश र कालको माध्यमबाट ग्रहण गर्दछ ।" हाम्रा संवेदनहरूले पनि बिस्तारै यस्तै देश र काल समाउँदै जाँदा स्वभिमान, राष्ट्रियता, जातियता जस्ता "म" जोडिएर आएका "म" त्वहरू स्खलित हुँदै, पग्लिन्दै, पलायन हुँदै, फैलिन्दै जाँदैछन् । पहाडको खोलाको फैलावट कम हुन्छ र नै तीव्र र वेगवान हुन्छ । मैदानमा पुगेपछि उसका तागत, वेग सबै चौडाइतिर फैलिन्दै फैलिन्दै बढ्छ र वेग कम हुन्छ । हामी पनि त्यसरी नै फैलिन्दै गएका छौँ, डायास्पोरा भनौ, अर्ध डायास्पोरा भनौँ, पलायन भनौँ-कुनै देशको कुना कुनामा, संसारको कुना कुनामा ।

संभावना सबैतिर हुन्छ-लुकेका, छिपेका । ती संभावना कुनै दिन निस्किने छन्-तर अहिले कवितामा बढी संभावना बिमल राई र डि.बी. पालुङ्वातर्फ चलायमान भएको छ । जो अतितमा थिए, त्यहाँ चमक छैन, चल्नको लागि धेरैथोरै चलेको छ, तर विमर्शको प्रगतिबिना । कुनै कुनैमा त काइ लाग्न थालेको छ, लेउ पलाउन थालेको छ-अलिकति अहंमले, अलिकति आलस्यले । गेस्टाल्ट मनोविज्ञान भन्छ-मानवीय स्वभाव कतै अलिकति मात्र चल्दा पनि धेरैतिर चल्दोरहेछ । त्यस्तै कतै कतै चलेको यो अहंमले, आलस्यले, क्रोधले सृजनाको स्तरियतामा भने पहाड नै खडा गरिदिदोरहेछ । यस्तै भएको छ अहिले धेरैतिर । त्यसैले होला, पुराणमा शिवजीले तेस्रो नेत्र खोल्दा धेरै कुरा भष्म भएको । कुनै अज्ञात ठाउँमा धेरै मोतीहरू चम्किरहेको होलान्, मान्छेलाई ज्ञान नभइन्जेल त्यसको अस्तित्वको नै के अर्थ !

दशौँ वर्षेखि नेपाली साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष जुलाइ १ तारिख कविता गोष्ठी मनाउँदै आइरहेको साहित्य अनुरागीहरूलाई अवगत छ । यसपटक हामीले सम्झना गर्‍यौ सधैँको हाम्रो भेला हुने हङकङको प्रसिद्ध चुनवानको म्याकडोनाल्डमा । हामीसित केही किताब, केही कविता र केही फूलहरू थिए । हाम्रो लागि यो उर्जाको मिथक युरोपको कुनै कफि हाउस थियो, जहाँ दर्शन, साहित्य र कलाको विमर्श हुन्थ्यो । वाणी प्रकाशन विराटनगरमा एकल कविता वाचन, केही एफ. एम.हरूमा अन्तरवार्ता, केही पत्रपत्रिकामा साहित्य बोलेर भरखरै नेपालबाट आएका डि.बी. पालुङ्वा, लामो समय गीत लेखेर कवितामा फड्को मारिरहेका बिमल राई र म हाम्रो नियमित भेलाको निम्तो बाँड्दै आयौँ । हामीले धेरैलाई निम्तो बाँड्यौ । तर खोलाजस्तै बग्दै, फैलिन्दै गएका मनहरूलाई फर्काउन सकेनौँ । बगेर गएको खोला फर्काउन नसकिने रहेछ । यसपटक भाग्यवाद, भयवाद, लीलावाद, बोल्दै पलायनवादमा लेखिएका बिमल र डि.बी.का कवितामा छलफल गर्‍यौ ।

बिमलका कवितामा आग्रह थियो,
फर्केर आउ
आफ्नै आकारमा रम्नु
आफ्नै ओजस्विता चम्काउनलाई
जहाँ तिमी प्राकृत बनेर बाँच्ने आकाश छ
अनि,
धर्ति र आमाका कैयौ भविश्यहरु छन ।

त्यस्तै डि.बी. पालुङ्वाको कवितामा पलायन भएका आफन्तको मृत्युको शोक थियो । डि.बी. भन्छन् कवितामा

तथापि कमिलाको बथानले खोला तर्ने सपना बुन्नु
कति सम्म तर्क संगत होला -

यी मेरा खोक्रा आंखाहरूको अगाडि
मेरा चियाउँदो हृदयको अगाडि
त्यही सुन्दर कचौराको गुलियो चाट्दै
अब कमिलाको अस्तित्व मर्छन् मेरा आफन्तहरू

यी कविताका हरफले भूपेन्द्रको भाषामा आत्मआन्दोलन गरिरहेका थिए । आदिवासी उपन्यासको स्व पहिचानको कुरा सझिरहेका थिए । किन उठ्छ आत्म आन्दोलनको आँधीवेरि र किन बेरिएर आउँछ, नोस्टलजिया । कफि गफहरूमा यही छलफल हुँदोरहेछ । एउटा देशबाट अर्को देशमा जाने साथीहरू आ-आफ्नै कुरा गर्छन् ।

भारतबाट अमेरिका पुगेकी उमाले पनि भनिन् यसरी नै धेरैलाई

म त्यहाँ पुगेको छु मित्र
त्यो भूमि हरियो छ परन्तु हृदय बाँझो थियो
मानिसहरू हार्दिक छन् तर मेरो हृदय एक्लो थियो
नदीहरूमा पैसा बग्छ तर मेरो हृदय शुष्क थियो
चाहानारहित, तनावरहित
पीडा र दुःखरहित
मित्रतारहित
मित्र, मेरो हृदयले आफ्नो आवाज गुमायो
त्यो भूमि त्रि्रो लागि होइन, मेरो लागि होइन ।

संसारको विभिन्न मुलुकमा छरिएर रहेका आप्रवासीको मनमा स्वदेश, स्वदेशको माटो, पानी, हावा समाउन, सुम्सुमाउन र चुम्न कोष, कोषिकाहरू लालायित हुन्छ । प्रत्येक ऐकान्तिक पलमा भावना, कल्पना, सपना, विपनामा त्यही नोस्टलजिया छछल्किन्छ र पोखिन्छ कविता, गीत र साहित्यका विविध विधामा । तर हामी चाहानामै सीमित हुन्छौ । दबिन्छ, हाम्रो इच्छा र आकाङछा नोस्टलजियाको सुपर इडमा । त्यो दमित इड हामी साहित्यमा बोलिरहेका हुँदारहेछौ । हामीले प्रतिष्ठानको कविता गोष्ठीको नाममा त्यस्तै कविता वाचन गर्‍यौ, विमर्श गर्‍यौ र ती कविताका फूलहरू चढाएर बिदा भयौँ । मनमा शीत झरिरहेको थियो, "म मातृभूमिसित जीवनमा फेरि जोडिनु सक्छु कि सक्दिनँ । अब यतिकै टुक्रिन्दै जाने हो हाम्रो यात्रा !"



No comments: