Sunday, May 29, 2011

भयवाद चिन्तन र विमर्श

पुस्तक समिक्षा
                                                                   भयवाद चिन्तन र विमर्श


          भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो 'भयवाद अध्ययन केन्द्र' को पहिलो प्रकाशन हो । यस पुस्तकमा भयवादका प्रवर्तक देश सुब्बाको कान्तिपुर दैनिक, ब्लास्ट टाइम्स, साप्ताहिक आवाज, जनसत्ता साप्ताहिक, लिम्बुवान ब्लकस्पट डट कममा प्रकाशित अन्तवार्ता छन् । त्यस्तै अन्नपूर्ण पोष्ट, उदघोष दैनिक, मर्निङ पोष्ट दैनिक, आवाज साप्ताहिक, राजधानी दैनिक, नयाँ पत्रिका, सनराइज साप्ताहिकमा भयवाद र आदिवासी उपन्यास सम्बन्धी छापिएका समाचार, लेख, प्रतिक्रिया छन् । टापू पत्रिकामा प्रकाशित ‘भयवादको प्रारम्भिक घोषणा’ पाठकको जानकारीको लागि समावेश गरिएको छ । देश सुब्बा संयमको उपस्थितिमा नेपालमा भएको अन्तरक्रिया, छलफल, टीकाटिप्पणी र रिपोर्ट पनि यसमा समावेश छ । वि.सं. २०६४ सालमा धरानमा भएको ‘भयवाद र आदिवासी उपन्यास’ राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रहरूको संकलन ‘भयवाद वैचारिक चिन्तन’ को विमोचनमा ती कार्यपत्रहरूको प्राध्यापक सरण राई, समालोचक मिश्र वैजन्ती, समालोचक राम्जी तिम्सिना, समालोचक चन्द्रमणि अधिकारी, पिण्डेश्वर विद्यापीठ धरानका प्राचार्य रमेश घिमिरेले गरेका प्रतिटिप्पणी पनि समावेश गरिएका छन् ।

          त्यही कार्यक्रमको प्रतिवेदन उप—प्राध्यापक दीपक न्यौपाने र गोपीकृष्ण खतिवडाले तयार पारेको साहित्यिक प्रतिवेदन पनि समावेश छ । त्यसबेला लेखक, समालोचक, शिक्षक, पत्रकार, पाठकहरू डा. बद्रीविशाल पोखरेल, दधिराज सुवेदी, डा. केदार पौडेल, प्रकाश आङ्देम्बे, रमेश लिम्बू, कविराज न्यौपाने, डा. भोला रिजाल, सुरेश घिमिरे, गोपिकृष्ण खतिवडा, कृष्ण अधिकारीले लिखित रूपमा व्यक्त गरेका जिज्ञासा पनि समावेश छन् ।

          यस बाहेक डा. गोविन्दराज भट्टराई, डा. सञ्जीव उप्रेती, कवि टङ्क वनेम, अशोक राई, बाल रोग विशेषज्ञ डा. हरि शर्मा, चेवन राई, राजकुमार दिक्पाल, प्रदिप मेन्याङ्बो, रमेश पौडेल ‘भावुक’, कृष्ण अधिकारी, एकु घिमिरेका भयवाद सम्बन्धी लेखहरू पनि संकलित छन् । प्रकाश थाम्सुहाङले सम्पादन गरेको ‘भयवाद वैचारिक चिन्तन’ पछि दीपक सुबेदीको यो ‘भयवाद चिन्तन र विमर्श’ दोस्रो पुस्तक हो । यो पुस्तक समालोचक, लेखक, पत्रकार, सबैको दृष्टिकोण बुझ्न सकिने ‘अल इन वन’ हो । भयवाद सम्बन्धी विद्वान् वर्गहरूको कस्तो धारणा, उत्सुकता, जिज्ञासा, अपेक्षा भइरहेको छ, त्यसको सानो अनुहार हो यो । भयवाद दर्शन र साहित्यमा प्रयोग बुझ्न यसले निकै सघाउ पु¥याउँछ । १८२ पृष्ठको यो पुस्तकको मूल्य रुपियाँ २०० छ । भयवाद दर्शन सम्बन्धी विभिन्न विद्वान्, समालोचक, चिकित्सकको अहिले सम्मको उत्कृष्ट सामूहिक कृति हो ।

          पृष्ठ १५८ प्रदिप मेन्याङ्बोको कान्तिपुरको अन्तरवार्तामा ब्लास्ट टाइम्स हुन गएको छ । त्यस्तै वितरक ओरिन्टल प्रकाशनले प्रकाशकीयमा ओरिन्टल प्रकाशनको विज्ञापन अलि असहजजस्तो देखिनु यसको कमजोरी पक्ष हो । समग्रमा १४ जना लेखक, १० वटा पत्रपत्रिका र ५ जना पत्रकार समावेश भएको भयवाद चिन्तन र विमर्श गतिलो पठ्य पुस्तक हो ।                                                    

No comments: